जनकपुरधाम, ६ साउन । मैथिली भाषामा निर्माण गरिएको फिल्म ‘कलकतियावाली’ यही साता प्रदर्शनमा आउन लागेको छ । ग्रामीण परिवेशमा आधारित कथावस्तु समेटिएको यस फिल्म आगामी साउन १० गतेदेखि सिरहाको सिनेमा हलमा प्रदर्शन हुने भएको हो ।
फिल्मका लेखक तथा निर्देशक अरुण कुमार यादवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी फिल्मको प्रदर्शनबारे जानकारी दिएका हुन् । निर्देशक यादवका अनुसार, ‘फिल्म एक महिना अगाडि नै प्रदर्शन हुने तयारीमा थियो, तर अभिनेत्री अन्सा सादाको आकस्मिक निधनका कारण ढिलाइ भयो । अहिले पनि हामी शोकमै छौं, तर अन्साको सपना थियो— यो फिल्म छिट्टै दर्शकमाझ पुगोस । त्यो सपना साकार पार्न हामी प्रस्तुत भएका हौं ।’

निर्देशक यादवले सम्पूर्ण तराईवासीहरूलाई एकपटक फिल्म अवश्य हेर्न अपिल गरे । ‘फिल्म पूर्ण रूपमा ग्रामीण जीवनशैली, संस्कृति र वर्तमान समाजको यथार्थ चित्रणमा आधारित छ,’ उनले बताए । ‘यहाँको कला, संस्कृति र मूल्य–मान्यताको संरक्षण, संवद्र्धन तथा विकृति–विसंगतिविरुद्ध चेतना जगाउने उद्देश्य फिल्मको केन्द्रमा रहेको छ ।’
फिल्म ‘कलकतियावाली’ मा अविनाश झा (कलकतियावाली) प्रमुख भूमिकामा छन् । अभिनेत्री स्व. अन्सा सदाले प्रमुख महिला पात्रको भूमिका निर्वाह गरेकी छिन् भने अभिनेता श्याम राहत (अठिवा) फिल्मका प्रमुख नायक हुन् ।
त्यसैगरी फिल्ममा वरिष्ठ कलाकार रामनारायण ठाकुर, इशिका भुजेल सहितका कलाहरु हुन ।

