चन्देश्वर सादा
मानव बेचबिखन आजको सभ्य समाजको एउटा गहिरो घाउ हो, जुन कानुनी प्रतिवन्ध र संस्थागत प्रयासका बाबजुद पनि दिनप्रतिदिन गहिरिँदै गएको छ । जब एक व्यक्ति आफूले नचाहँदै अरूको नियन्त्रणमा परेर शोषणको शिकार बन्न पुग्छ, तब त्यो घटनाले केवल एउटा जीवन मात्र होइन, एउटा समाजको नैतिकता र मानवता दुबैको पतनलाई संकेत गर्दछ । नेपालजस्तो अल्पविकसित मुलुकमा जहाँ गरिबी, अशिक्षा, बेरोजगारी र चेतनाको कमी व्यापक रूपमा विद्यमान छ, त्यहाँ मानव बेचबिखन केवल सामाजिक अपराध होइन, बरु एउटा दीर्घकालीन मानवीय सङ्कटको रूप लिइसकेको छ ।
नेपालमा मानव बेचबिखनको समस्या निकै पुरानो भए तापनि पछिल्लो समय यो झनै जटिल र गुप्त बन्दै गएको छ । पहिले(पहिले स्थानीय दलालहरूको संलग्नतामा भारततर्फ महिलाहरूको बेचबिखन मुख्य समस्या थियो, अहिले यो समस्या विश्वव्यापी रूप लिइसकेको छ । खाडी मुलुकहरू, मलेशिया, युरोप, अफ्रिकी राष्टूहरू हुँदै पछिल्लो समय रुस र युक्रेनसम्म नेपाली महिला, युवती तथा युवाहरू वैदेशिक रोजगारी, विवाह वा मनोरञ्जनको नाममा बेचिइरहेका छन् । तीमध्ये अधिकांशको नियति श्रम शोषण, यौन शोषण वा अंग निकाल्ने जस्ता अमानवीय कार्यमा प्रयोग हुने हुन्छ ।
मानव बेचबिखनका पछाडि काम गर्ने दलाल समूहहरू अब पहिलेभन्दा धेरै योजनाबद्ध, संगठित र प्रविधिमैत्री भएका छन् । उनीहरूले सामाजिक सञ्जालजस्ता प्लेटफर्मको प्रयोग गरेर युवतीहरूलाई ’लभ ट्र्याप’ मा पार्ने, वैदेशिक रोजगारीको आकर्षक प्रस्ताव दिने, विदेशी नागरिकसँग विवाहको सपना देखाउने जस्ता अनेक तरिकाबाट फसाउने गरेका छन् । ग्रामीण भेगका बालबालिकालाई गोद लिने नाममा बेपत्ता पार्ने घटनाहरू पनि दिनानुदिन बढ्दो छन् । अझ दुःखद पक्ष त के छ भने बेचबिखनमा संलग्न व्यक्तिहरूको संरक्षणमा कतिपय प्रभावशाली व्यक्ति वा स्थानीय नेताहरू समेत रहेका प्रमाणित घटनाहरू सार्वजनिक भइसकेका छन् ।
नेपालको सामाजिक संरचना पनि मानव बेचबिखनको लागि सहज वातावरण बन्ने एउटा कारक हो । विशेष गरी मधेश, पहाडका सीमावर्ती क्षेत्रहरू, सुदूरपश्चिमका गरिब र सीमान्तकृत समुदायहरू, अशिक्षित महिला तथा बालबालिकाहरू दलालहरूको प्रमुख लक्ष्य बन्दै आएका छन्। भारतसँग खुला सिमाना भएकाले सीमामा निगरानीको अभाव र आपसी सहकार्यको कमजोरीका कारण बेचबिखन सजिलो भएको छ । सीमामा खटिएका सुरक्षाकर्मीको कमजोरी, पीडितको मौनता, र प्रशासनिक संयन्त्रको उदासीनता पनि यस समस्या झनै भयावह बनाउने कारक हुन् ।
नेपाल सरकारले मानव बेचबिखन नियन्त्रणका लागि केही कानुनी संरचनाहरू तयार पारेको छ। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४, फौजदारी संहिता २०७४, वैदेशिक रोजगार ऐन २०६४, र संविधानको धारा २९ अन्तर्गत मानव बेचबिखनलाई गैरकानुनी घोषित गरिएको छ। यिनै कानुनअनुसार दोषीलाई १०(२० वर्षसम्मको कैद सजाय र आर्थिक जरिवाना तोकिएको छ। साथै, गृहमन्त्रालयअन्तर्गतको मानव बेचबिखन अनुसन्धान शाखा, नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रहरू, वैदेशिक रोजगार विभाग, र विदेशस्थित नेपाली दूतावासहरूले विभिन्न तहमा काम गरिरहेका छन् ।
तर व्यवहारमा यी कानुन र संस्थाहरूले आशा अनुसारको परिणाम दिन सकेका छैनन्। त्यसको प्रमुख कारण हो ( मानव स्रोतको अभाव, बजेटको न्यूनता, राज्यको अलमलिएको नीति, राजनीतिक इच्छाशक्तिको कमी, र कानुनी प्रक्रियाको जटिलता। पीडितहरूले आफूमाथि भएको घटनाको उजुरी दर्ता गर्न डर मान्ने, प्रमाण सङ्कलनमा कठिनाइ हुने, मुद्दा दर्ता हुन समय लाग्ने, अदालतबाट फैसला आउन वर्षौं लाग्ने ( यी सबैले अपराधीलाई संरक्षण र पीडितलाई थप पीडामा पार्छ। कहिलेकाहीँ त प्रहरी, प्रशासन वा राजनीतिक व्यक्तित्व स्वयं पनि प्रत्यक्ष वा परोक्ष रूपमा अपराधी पक्षमा देखिन्छन्, जसले निष्पक्षताको प्रश्न उठाउँछ ।
सार्वजनिक तहमा गरिने चेतनामूलक कार्यक्रमहरू, पोस्टर र विज्ञापनको मात्राले होइन, गुणस्तरीय व्यवहारिक हस्तक्षेपको आवश्यकता अहिले छ। चेतना बढाउने अभियान ग्रामीण भेगसम्म पुग्न सक्नुपर्छ। किशोरीहरूलाई आत्मनिर्भर बनाउने सीपमूलक तालिमहरू, अनलाइन सुरक्षा शिक्षा, र विद्यालय तहबाट नै मानव बेचबिखनको पाठ्यक्रम समावेश गरिनु आवश्यक छ। सीमामा कडाई, अन्तर्राष्टिूय सहयोगमा सुधार, र पीडित पुनःस्थापनाको प्रभावकारी व्यवस्था अपरिहार्य छन्।
मानव बेचबिखन विरुद्धको लडाइँ केवल राज्यको होइन, समाजको साझा जिम्मेवारी हो । जबसम्म हामी पीडितप्रति सहानुभूति र अपराधप्रति शून्य सहनशीलताको भावना राख्दैनौं, तबसम्म कुनै पनि कानुन, संस्था वा अभियान पूर्ण रूपमा सफल हुन सक्दैन। हाम्रो सिङ्गो सामाजिक संरचना, धर्म, संस्कार, शिक्षा, र राजनीति तब मात्र मानवोचित हुन्छ, जब त्यसले सबै नागरिकलाई स्वतन्त्र र सुरक्षित जीवनको ग्यारेन्टी दिनसक्छ। मानवीय गरिमालाई बचाउने लडाइँ अब ढिलो गर्नुको अर्थ केवल नयाँ पीडितहरूलाई जन्म दिनु हो। त्यसैले अब सजग, सचेत र संगठित हुनुपर्छ ( मानव बेचबिखनको अन्त्यका लागि ।

