जनकपुरधाम, साउन ५ । मनसुन भित्रिएसँगै धान रोपाइँ सुरु भएपछि रासायनिक मलको माग पनि उच्च बनेको छ । कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरधाममा हाल पर्याप्त मात्रामा मल मौज्दात रहेको छ भने दैनिक करिब २ मेट्रिक टन मल बिक्री भइरहेको कार्यालयले जनाएको छ ।
यद्यपि, स्थानीय तहको सिफारिसमा डिलर तथा सहकारीहरूले ठूलो परिमाणमा मल उठाए पनि वास्तविक किसानसम्म पर्याप्त मात्रामा पुग्न नसकेको गुनासो बढ्दै गएको छ। धनुषाका केही स्थानमा किसानले मल अभावकै बीच धान रोपाइँ गर्न बाध्य भएको अवस्था देखिएको छ ।
कृषि सामग्री कम्पनीको जनकपुर शाखाले आर्थिक वर्ष २०८२÷८३ मा साउनदेखि असार मसान्तसम्म ५२ करोड ५८ लाख ८९ हजार ३२ रुपैयाँ बराबरको १८ हजार ७४५ मेट्रिक टन युरिया, डीएपी, पोटास र कृषि चून बिक्री गरेको जनाएको छ । यसमध्ये ११ हजार २४१.३५ मेट्रिक टन युरिया, ७ हजार ३४३ मेट्रिक टन डीएपी, ३४०.१० मेट्रिक टन पोटास तथा १६०.९० मेट्रिक टन कृषि चून बिक्री गरिएको छ ।
शाखा कार्यालयका सहायक प्रबन्धक बेचनकुमार साहका अनुसार धानबालीका लागि आवश्यक पर्ने मल पर्याप्त मौज्दातमा रहेकाले अभाव हुने अवस्था छैन। उनका अनुसार धनुषा र महोत्तरीका २७ स्थानीय तहमा रहेका २०९ सहकारी संस्थामार्फत किसानसम्म मल वितरण हुँदै आएको छ ।
तर, सम्बन्धित पालिकाको ढिलासुस्ती, कोटा उठाउन हुने ढिलाइ तथा राजनीतिक प्रभावका कारण वास्तविक किसानले सहज रूपमा मल पाउन नसकेको गुनासो छ ।
खजुरीका किसान योगेन्द्र मण्डलका अनुसार स्थानीय तहले ढुवानी, लोड–अनलोडलगायतका अतिरिक्त खर्चसमेत जोडेर बिक्री मूल्य निर्धारण गर्दा सरकारी मल किन्न पनि किसानले थप आर्थिक भार बेहोर्नुपरेको छ ।
किसानका अनुसार प्रदेश सरकारले तोकेको कोटाअनुसार स्थानीय तहले समयमा मल नउठाउने र उठाएपछि पनि केही सहकारीले मनोमानी ढंगले वितरण गर्ने गरेका कारण धेरै किसान महँगो मूल्यमा भारतीय मल किन्न बाध्य छन्। सहकारीमार्फत हुने मल वितरण प्रणाली पारदर्शी नभएको आरोपसमेत किसानहरूले लगाएका छन् ।
धनुषामा करिब ४२ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। अन्नको भण्डार मानिने मधेश प्रदेशमा समयमै पर्याप्त मल उपलब्ध हुन नसके यस वर्ष धान उत्पादनमा प्रतिकूल असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन् ।



