जनकपुरधाम, २४ साउन । खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय जलेश्वर(महोत्तरीले भारतबाट आयात गरिएको १६ लाख २० हजार रुपैयाँ मूल्य बराबरको १३ हजार ५ केजी मासको दाल फिर्ता पठाएको छ । कार्यालय प्रमुख गणेशकुमार रोकायाका अनुसार, दालको परीक्षण गर्दा खाने योग्य नभएको प्रमाणित भएपछि पुनः भारततर्फ पठाइएको हो ।
आर्थिक वर्ष २०८१÷८२ मा सो कार्यालयले ४ हजार ४९१ वटा खाद्य नमूना परीक्षण गरेको थियो । परीक्षणका क्रममा मासको दालमा अखाद्य बाह्य रंगको उपस्थिति भेटिएकोले तत्काल फिर्ता पठाइएको रोकायाले जानकारी दिए । उनका अनुसार, यस्ता अखाद्य वा स्वास्थ्यलाई हानी पु¥याउने पदार्थहरू नेपाल भित्रिन नदिन कार्यालय निरन्तर सक्रिय छ ।
यसै अवधिमा कार्यालयले ४ हजार ६४८ वटा वस्तुको विषादी नमूना परीक्षणसमेत गरेको थियो । परीक्षण र गुणस्तर नियन्त्रणको क्रममा कार्यालयले कुल ३७ लाख ५९ हजार ९५० रुपैयाँ राजस्व संकलन गरेको छ । रोकायाका अनुसार, विषादीयुक्त, अखाद्य वा मापदण्ड विपरीतका वस्तुहरूको आयातमा रोक लगाउन कडाइका साथ निगरानी भइरहेको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १३(१) अनुसार, खाद्य पदार्थ पैठारी गर्न चाहने व्यवसायीले अनिवार्य रूपमा सम्बन्धित कार्यालयबाट प्रवेश अनुमति लिनुपर्छ । अनुमति प्राप्त गरेपछि मात्र खाद्य वस्तु आयात गर्न पाइने कानूनी व्यवस्था छ । यस प्रक्रियामा परीक्षण र प्रमाणिकरण दुवै चरण पूरा गर्नुपर्ने हुँदा, मापदण्ड पूरा नगर्ने वस्तुहरू फिर्ता पठाइन्छन् ।
कार्यालयले उपभोक्तालाई गुणस्तरीय र सुरक्षित खाद्य वस्तु उपलब्ध गराउन आयातित वस्तुको परीक्षणमा थप चाँजोपाँजो मिलाउने जनाएको छ। रोकायाले उपभोक्ताले पनि खाद्य वस्तु किन्दा उत्पादन मिति, म्याद, प्याकेजिङ र गुणस्तर चिन्ह जाँच गर्न आग्रह गरेका छन् ।

