जनकपुरधाम, २५ साउन । मधेश प्रदेशको जीवनरेखा मानिने पूर्व(पश्चिम हुलाकी राजमार्गको १५ वर्षमा भौतिक प्रगति ८८ प्रतिशत पुगेको छ। धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका विभिन्न स्थानलाई जोड्ने ४०३.६९ किलोमिटर लम्बाइको यो सडक निर्माणाधीन छ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका अनुसार, परियोजनाको कुल लागत ८ अर्ब ५७ करोड ३१ लाख ८१ हजार ५८५ रुपैयाँ छ। सूचना अधिकारी तथा साइड इन्जिनियर रञ्जित कुमार रायका अनुसार, राजमार्गमा ६१ वटा पुलपुलेसामध्ये २२ वटा निर्माण सम्पन्न भइसकेका छन् भने बाँकीमा काम भइरहेको छ।
हालसम्म ३४४.०५ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भएको छ। सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका विभिन्न भागमा निर्माण हुने १६ वटा सडक खण्डमा काम भइरहेको छ।
दक्षिणतर्फ भारतको सीमासँग जोडिने यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि ग्रामीण अर्थतन्त्रमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। हाल हुलाकी सडकमार्फत दैनिक करिब ३५ लाख मानिसको ओहोरदोहोर हुने गरेको छ। निर्माण कार्यमा कतिपय स्थानमा खानेपानीको पाइप ओछ्याउँदा सडक भत्किनु, अतिक्रमण, घर(टहरा निर्माण तथा अन्य अवरोधका कारण ढिलाइ भएको छ। आर्थिक वर्ष २०६७÷०६८ मा सुरु गरिएको यो आयोजना २०८३÷०८४ भित्र सम्पन्न गर्ने लक्ष्य छ।

