एजेन्सी २८ साउन ।
वासिङ्टन डीसी । अमेरिकाको टेक्सास राज्यमा मंगलबार दिउँसो युनियन प्यासिफिक रेलका ३५ डिब्बा लिकबाट बाहिर खस्ने दुर्घटना भएको छ।
यो घटना फोर्ट वर्थबाट करिब १०० किलोमिटर दक्षिण–पश्चिमतर्फ पर्ने गोर्डन सहरको पूर्व भागमा घटेको हो।
यस दुर्घटनामा कसैलाई पनि चोटपटक नपरेको र कुनै क्षेत्र खाली गराइएको छैन। तर, स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भएको भिडियो फुटेजमा धेरै डिब्बा एक–अर्कामाथि चढेको र नजिकैको घाँसमा आगो लागेर धुवाँ उडिरहेको देखिन्छ।
पेलो पिन्टो काउन्टी इमर्जेन्सी सर्भिसेज डिष्ट्रिक्टका अनुसार दुर्घटनालाई खतरनाक अवस्थाको रूपमा लिइएको छ। यद्यपि, रेलका डिब्बामा के लोड गरिएको थियो भन्ने कुरा अझै स्पष्ट भएको छैन। अधिकारीहरूले कुनै पनि डिब्बाबाट सामान चुहिएको छैन भनेका छन्।
युनियन प्यासिफिकका प्रवक्ता रोबिन तिस्वारका अनुसार दुर्घटना स्थानीय समयानुसार दिउँसो २ बजे भएको हो। दुर्घटनाको कारण अझै पत्ता लाग्न सकेको छैन। रेलवे कम्पनी र स्थानीय प्रशासनले संयुक्त रूपमा अनुसन्धान सुरु गरेका छन्।
रेल यातायात पुनः सञ्चालन गर्न डिब्बा हटाउने र ट्र्याक मर्मत गर्ने काम चाँडै सुरु गरिने जनाइएको छ। यसैबीच, अधिकारीहरूले सर्वसाधारणलाई दुर्घटना क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन्।
रेल यातायात पुनः सञ्चालन गर्न डिब्बा हटाउने र ट्र्याक मर्मत गर्ने काम चाँडै सुरु गरिने जनाइएको छ। यसैबीच, अधिकारीहरूले सर्वसाधारणलाई दुर्घटना क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन्।

