जनकपुरधाम, ४ भदौ । भूमिहीन दलित समुदायको अधिकार र पहिचानका सवालमा जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साहको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा २५ वटै वडाका दलित अगुवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीहरूले संघीयता स्थापनाको एक दशक बितिसक्दा पनि दलित समुदायले संघीयताको वास्तविक अनुभूति गर्न नपाएको गुनासो पोखेका छन् । उनीहरूका अनुसार मधेश प्रदेशमा करिब ४० प्रतिशत दलित भूमिहीन छन्, तर राज्यको सेवासुविधाबाट वञ्चित छन् । यसतर्फ राज्यले गम्भीरता नदेखाएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ, मधेश प्रदेश समितिका अध्यक्ष कैलास दासले दलित समुदायका हजारौं परिवार आज पनि नदी, पोखरी वा बाटो छेउमा टहरा हालेर बस्न बाध्य भएको दुखेसो सुनाउनुभयो । उहाँले भन्नुभयो, “अरूको जग्गामा टहरा हाल्दा कहिले राज्यले भत्काइदिन्छ, कहिले सामन्ती मानसिकताका शक्तिशालीले खेदाइदिन्छन् । त्यतिबेला उनीहरूको आँसु पुछ्ने कोही हुँदैन, आवाज सुन्ने कान हुँदैन । आज पनि दुई छाक टार्न गाह्रो छ । विजुलीको उज्यालो छुन पाएका छैनन्, सरकारी सुविधा भन्ने कुरा त उनीहरूको लागि केवल सपना जस्तै हो । कसैले ऋण समेत दिँदैन ।”
दासका अनुसार प्राकृतिक प्रकोप आउँदा पनि सबैभन्दा बढी पीडित दलित समुदाय नै हुन्छन् । बाढीले टहरा बगाउँछ, आगलागीले घर खरानी बनाउँछ, रोगले ज्यान लिन्छ, तर सहायता सूचीमा उनीहरूको नाम प्रायः हराउँछ । उहाँले प्रश्न गर्नुभयो, “कहिलेसम्म दलित समुदाय राज्यबाट उपेक्षित रहने ? कहिलेसम्म संघीयताको नारा उनीहरूका लागि केवल कागजी खेल मात्र हुनेछ ?”

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का प्रदेश प्रमुख राजु पासमानले मधेश प्रदेशमा सबैभन्दा बढी मानव अधिकार उल्लंघन दलित समुदायमाथि नै हुने गरेको उल्लेख गर्नुभयो । यसलाई न्यूनिकरण गर्न दलित समुदाय स्वयं संगठित भई अधिकारका लागि संघर्ष गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अन्त्योदय आन्दोलनका संयोजक कैलास महतोले भूमिहीन दलित समुदायको अधिकारका लागि आफूहरूको निरन्तर साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अब दलित समुदायले नै प्रश्न गर्नुपर्छ—हाम्रो अधिकार खोई ? संविधान र कानुनले दिएको अधिकार माग्नुपर्ने बेला आएको छ ।”

सोही वडाका वडा अध्यक्ष राघवेन्द्र साहले वडाभित्र रहेका सम्पूर्ण भूमिहीन दलित समुदायलाई भूमि उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले दलित समुदायलाई सचेत गराउँदै भन्नुभयो, “निर्वाचनमा लोभलालचमा पर्नु हुँदैन, अधिकार खोज्नुपर्छ । आफ्नो अधिकारका लागि आफैं अघि बढ्नुपर्छ । भूमिहीनका लागि फाराम भर्ने प्रक्रिया सुरु भइसकेको छ, कृपया फाराम भर्नुस्, म भूमि उपलब्ध गराउन सहयोग गर्छु ।”
अन्तरक्रिया कार्यक्रममा पूर्व कार्यपालिका सदस्य सुनिता राउत, वडा नं. १६ की वडा सदस्य शान्ति देवी दाससहित दर्जनौँ व्यक्तिले आफ्ना विचार प्रस्तुत गरेका थिए ।

