जनकपुरधाम, १२ भदौ । नेपाल आयल निगमको महेन्द्रनगर डिपो कार्यालय, धनुषामा विगत एक वर्षमै तीनजना कार्यालय प्रमुखको सरुवा भएको छ।
एक वर्षभित्र मनोज कुमार साह, मनिष न्यौपाने र राजीव कापडी सो पदमा सरुवा भएका हुन्। हालका प्रमुख राजीव कापडी दुई महिनादेखि कार्यालयमा कार्यरत छन्।
नेपाल सरकारको स्वामित्वमा सञ्चालित आयल निगमको ऐन तथा विनियमावलीअनुसार कार्यालय प्रमुख र अधिकृतस्तरका कर्मचारीहरूको सरुवा दुई वर्षमा एकपटक हुने प्रावधान छ। तर, सो प्रावधान विपरीत महेन्द्रनगर डिपोमा पटक–पटक सरुवाले कार्यसम्पादनमा समस्या परेको कर्मचारीहरूको गुनासो छ।
हालका प्रमुख कापडीले भने, “हाम्रो निगममा सामान्यतया दुई वर्षमा सरुवा हुने प्रावधान छ, तर आवश्यक परे कुनै पनि समयमा सरुवा हुन सक्छ। जहाँ तोकिएको हुन्छ, त्यहाँ गएर काम गर्नु पर्छ।” आफू पदबहाली भएदेखि नै कामलाई प्रभावकारी र व्यवस्थित बनाउन जोड दिइरहेको पनि उनले बताए।
कर्मचारीहरूका अनुसार पेट्रोलियम ढुवानीकर्ताहरू, व्यवसायी तथा कर्मचारीबीच देखिने विवादकै कारण प्रमुखहरूको सरुवा बारम्बार हुने गरेको छ।
महेन्द्रनगर डिपोले अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ ल्याई धनुषा र महोत्तरीका विभिन्न पम्पहरूमा आपूर्ति गर्दै आएको छ। कार्यालयले करिब ८० वटा ट्यांकरमार्फत ढुवानी गर्ने गरेको छ भने ढुवानी खर्च नेपाल आयल निगमले उपलब्ध गराउँछ।

