विराटनगर, १६ भदौ । संघीय लोकतान्त्रिक मोर्चाले अधिकार, पहिचान र स्वायत्तताको सवालमा अब एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पारेको छ। सोमबार विराटनगरमा आयोजित वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान कार्यक्रममा शीर्ष नेताहरुले मधेश र उत्पीडित समुदायका सवाललाई सम्बोधन गर्दै राजनीतिक दलबीच एकताको आवश्यकता औंल्याए।
कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा एउटै पार्टीमा रहेर पनि विभाजनमा पुगेका नेताहरू फेरि एउटै मञ्चमा आउनुपर्ने आवश्यकता देखिएको बताए। भूमि ऐनलाई उनले “देशलाई वनजंगल मुक्त बनाएर धन कमाउने योजना”को संज्ञा दिँदै यसको विरोध गरे।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आदिवासी, जनजाति र मधेसी समुदायहरू राज्यविहीन बनेर बाँच्न बाध्य भएको उल्लेख गर्दै विगतका विभाजनकै कारण संघर्ष असफल भएको दाबी गरे। उनले अधिकार र पहिचानका लागि उत्पीडित वर्ग एकजुट हुनुको विकल्प नरहेको स्पष्ट पारे।
त्यसैगरी, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आन्दोलनकारीमाथि झुटा मुद्दा लगाइएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। उनले “मधेसी” शब्दलाई मान्यता दिलाउन निरन्तर संघर्ष गरेको इतिहासलाई स्मरण गर्दै अझै लामो लडाइँ बाँकी रहेको बताए।
जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले मधेसी समाज राजनीतिक र सामाजिक रूपमा विभाजित भएको उल्लेख गर्दै विभाजनले मात्र कमजोरी बढाउने र एकताले मात्र अधिकार प्राप्तिको बाटो खोल्ने धारणा राखे।
राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक, आन्दोलनकारीमाथि दायर मुद्दा खारेज र भूमिको संरक्षणका सवाललाई उठाउँदै मोर्चाले संयुक्त रूपमा संघर्ष गर्नुपर्नेमा जोड दिए।
त्यस्तै, तमलोपा अध्यक्ष वृषेश चन्द्र लालले समावेशिता, समानुपातिक निर्वाचन प्रणाली र अधिकार प्राप्तिका लागि संविधान संशोधन अपरिहार्य भएको तर्क प्रस्तुत गरे। नागरिक उन्मुक्ति पार्टीका सचिव चन्द्रकुमार चौधरीले मोर्चाको एकताले थारु, मधेसी र आदिवासी जनजाति समुदायमा नयाँ उत्साह थपेको दाबी गर्दै संघर्षलाई बलियो बनाउन सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने बताए।
मोर्चाले पहिलो चरणमा देशभर आठ ठाउँमा जनजागरण अभियान गर्ने निर्णय गरेको छ। यसैक्रममा अब भदौ १८ गते राजविराज र २० गते जनकपुरधाममा कार्यक्रम हुने जनाइएको छ।

