जनकपुरधाम, १९ भदौ । मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी परामर्श गोष्ठी राजधानी काठमाडौँमा आयोजना हुने भएको छ । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले २०८२ भदौ १९ गते कोटेश्वरस्थित एक रेस्टुरेन्टमा हुने कार्यक्रमबारे आफ्नै व्यक्तिगत ह्वाट्सअप समूहमार्फत जानकारी सार्वजनिक गरेका छन् ।
यस विषयमा नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अनुसार मधेश प्रदेश सञ्चार ऐनका प्रमुख सरोकारवाला महासंघ स्वयं, यसको आठ जिल्ला शाखा, रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन तथा तिनका औपचारिक संघ–संस्थाहरू हुन् । तर, यस्ता निकायलाई औपचारिक जानकारी नै नगराई प्रदेश बाहिर छलफल कार्यक्रम राखिएको घटनाले गम्भीर प्रश्न र नियतगत शंका खडा गरेको महासंघले जनाएको छ ।

महासंघले मधेशमै सम्पन्न हुनुपर्ने छलफललाई काठमाडौँमा आयोजना गर्नु अनावश्यक खर्च र प्रदेश सरकारको बजेट दुरुपयोग जस्तो देखिने टिप्पणी गरेको छ । “महत्त्वपूर्ण ऐन संशोधन प्रक्रियामा सरोकारवाला निकायलाई पाखा लगाएर आयोजना गरिने कुनै पनि छलफल औचित्यहीन हुनेछ,“ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संविधान २०७२ तथा सञ्चार–पत्रकारिता सम्बन्धी प्रचलित कानूनी व्यवस्थाविपरीत हुने कुनै पनि संशोधन कदम नेपाल पत्रकार महासंघलाई स्वीकार्य नहुने स्पष्ट पारिएको छ । साथै, सञ्चार जगतको हित विपरीत गरिने कुनै पनि कार्य मान्य नहुने चेतावनीसमेत दिइएको छ ।

