जनकपुरधाम, २२ भदौ । धनुषा जिल्लाको दक्षिणीमा भारतीय सीमासँग जोडिएको जटही(पिपरौन नाका तीन साताको लागि बन्द हुँदा जनकपुर भन्सार कार्यालयलाई दैनिक १० लाखभन्दा बढी राजस्व गुम्दै आएको छ ।
जटही नाकासँग जोडिएको भारतको पिपरौनमा सडकको स्तरोन्नती भई रहेकोले भारत सरकारले सो नाका बन्द गरेका छन् । सो नाका बन्द हुँदा पैदल यात्री तथा सवारी साधनको आवागमनमा रोक लगाएको भारतीय सीमा सुरक्षा बल पिपरौनले बताएका छन् ।
भारत सरकारको करीब एक करोड ५० लाख भारतीय रुपैयामा बनाई रहेको सो सडकको लम्बाई करीब डेढ किलोमिटर रहेको छ । सो नाकाबाट दैनिक दुई सयको हाराहारीमा साना तथा ठूला सवारी साधनहरु नेपाल प्रवेश गर्ने गरेको छ । तर नाका बन्द हुँदा सवारी साधनको ओहरदोहर अवरोध हुँदा भन्सार कार्यालयलाई दैनिक दस लाख रुपैया बराबरको राजस्व घाटा भई रहेको जटही भन्सार कार्यालयका कर्मचारी अजय यादवले बताए ।

अहिले सो नाका बन्द भएपछि सवारी साधन, पैदल यात्री तथा मालसमानहरु आउन बन्द भएको हो । भारतको विभिन्न ठाउँमा सो नाकाबाट भएर नेपाल प्रवेश गर्ने सवारी साधनहरु बन्द हुँदा ती सवारी साधनहरु लामो बाटो छिछोलेर छुट पूर्जीका लागि या त माडर भन्सार यात जलेश्वर भन्सार जानुपर्ने बाध्यता रहेको सवारी धनीहरुले बताउँछन् ।
सो नाका बन्द हुँदा भारतबाट आउने पर्यटकहरु आउन नसकेकोले जनकपुरधाम बजार आंशिक रुपमा प्रभावित भएको व्यवसायीहरु बताउँछन् ।

