जनकपुरधाम, २१ भदौ । मधेश प्रदेशमा विद्यमान सामाजिक, राजनीतिक तथा नागरिक सरोकारका समस्या र चुनौतीलाई सम्बोधन गर्न युवा तथा नागरिक समाजले राज्यको भूमिका र आफ्नै दायित्वबारे सवाल उठाएका छन् ।
जनकपुरधाममा आइतबार नेपाल मधेश फाउण्डेशनद्वारा आयोजित ‘नागरिक चबुतरा’ कार्यक्रममा सहभागी युवा, अधिकारकर्मी, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूले मधेश प्रदेशमा विद्यमान विभिन्न समस्याबारे गम्भीर बहस गरेका हुन् ।
कार्यक्रममा मधेशमा बढ्दो बालविवाह, सीमावर्ती क्षेत्रमा बढ्दो दुव्र्यसन, महिला हिंसा, सामाजिक विभेद, शोषण र दमन लगायतका समस्याबारे सहभागीहरूले आवाज उठाए । उनीहरूले यी समस्या लामो समयदेखि विद्यमान रहे पनि राज्यका सम्बन्धित निकायले प्रभावकारी रूपमा सम्बोधन गर्न नसकेको बताए ।

सहभागीहरूले कानुन निर्माण भए पनि त्यसको पूर्ण तथा प्रभावकारी कार्यान्वयन हुन नसक्दा सामाजिक विकृति र अपराधका घटना बढिरहेको धारणा राखे । राज्यले निर्वाह गर्नुपर्ने जिम्मेवारी प्रभावकारी रूपमा पूरा नगरेको अवस्थामा नागरिक समाजले कस्तो भूमिका खेल्ने र समस्याको समाधानका लागि दबाब सिर्जना गर्ने प्रभावकारी उपाय के हुन सक्छ भन्ने विषयमा समेत उनीहरूले जिज्ञासा राखे ।
मधेश प्रदेशमा राजनीतिक अस्थिरता र राजनीतिक संस्कारको समस्या प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गर्दै सहभागीहरूले त्यसपछि महिला हिंसा, शोषण, दमन तथा युवाहरू कुलतमा फस्ने प्रवृत्तिले सामाजिक समस्या थप जटिल बनाइरहेको बताए । यी समस्यालाई केवल व्यक्तिगत वा पारिवारिक विषयका रूपमा नभई सामाजिक विकृति र सार्वजनिक सरोकारको विषयका रूपमा लिएर बहस तथा पैरवी गर्नुपर्ने उनीहरूको जोड थियो ।
कार्यक्रममा राजनीतिक विश्लेषक तथा सामाजिक अभियन्ता तुलानारायण साहले नागरिक समाजले सार्वजनिक सरोकारका मुद्दामा निष्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले नागरिक समाज कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा उभिनेभन्दा पनि समाजका समस्या र सार्वजनिक मुद्दालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा राखे । “स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सार्वजनिक मुद्दाका सवालमा नागरिक समाज अगाडि बढ्नुपर्छ,” उनले भने, “समाजभित्र रहेका विकृतिविरुद्ध आवाज उठाउने तथा राज्यलाई जिम्मेवार बनाउन दबाब र पैरवी गर्ने भूमिका नागरिक समाजले निर्वाह गर्नुपर्छ ।”
नागरिक समाज कुनै राजनीतिक दलमा आबद्ध भएर काम गर्न नहुने बताउँदै साहले सार्वजनिक सरोकारका विषयलाई बहसको विषय बनाउनुपर्नेमा जोड दिए । मधेशमा नागरिक समाजको यही भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले ‘नागरिक चबुतरा’ कार्यक्रम आयोजना गरिएको उनले बताए ।
त्यस्तै, पत्रकार तथा साहित्यकार नित्यानन्द मण्डलले मधेश प्रदेशका समस्या पहिचान गरी त्यसबारे निरन्तर जागरण र बहस चलाउनुपर्ने बताए । समस्याको संख्या धेरै भए पनि सबै विषयलाई एकैपटक समाधान गर्न खोज्नुभन्दा प्राथमिकताका आधारमा समस्या पहिचान गरेर क्रमशः समाधानतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
“समस्या धेरै छन्, तर एउटा–एउटा समस्याको पहिचान गर्दै समाधानतर्फ जानुपर्छ,” मण्डलले भने।
कार्यक्रममा कानून व्यवसायी रोकी साह, महिला समूहकी अध्यक्ष तथा महिला अधिकारकर्मी सुभद्रा आलेलगायत अधिकारकर्मी, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूले मधेशका सामाजिक समस्या, महिला अधिकार, कानुनी कार्यान्वयन तथा नागरिक समाजको भूमिकाबारे आफ्ना धारणा र जिज्ञासा राखेका थिए।
कार्यक्रमका सहभागीहरूले मधेशका समस्या समाधानका लागि राज्यको सक्रियता मात्रै पर्याप्त नहुने भन्दै नागरिक समाज, युवा, सञ्चार क्षेत्र र समुदायबीच सहकार्य तथा निरन्तर खबरदारी आवश्यक रहेको बताएका थिए। उनीहरूले सामाजिक विकृति अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै जनचेतना, सामाजिक अभियान र सार्वजनिक बहसलाई समेत तीव्रता दिनुपर्नेमा जोड दिए।



