जनकपुरधाम १० असोज । मधेस प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको भीडभाड र संवेदनशीलतालाई ध्यानमा राख्दै आम नागरिकलाई भयरहित वातावरणमा पर्व मनाउन सकिने सुनिश्चितता दिन आठै जिल्लामा विस्तृत सुरक्षा व्यवस्था गरिएको हो ।
यस योजनाअनुसार ६ हजार ५३२ प्रहरी परिचालन हुनेछन् । अपराध नियन्त्रण, सडक शुशासन, भीड व्यवस्थापनदेखि धार्मिक स्थल, वित्तीय संस्था, बजार तथा पर्यटकीय क्षेत्रको सुरक्षासम्मका लागि फरक–फरक सुरक्षा संयन्त्र खटाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रवक्ता तथा एसएसपी कमल थापाका अनुसार असोज ६ गतेदेखि छठ पर्वसम्म यो योजना लागू हुनेछ । उनले भने, “चाडपर्वको समयमा कुनै पनि आपराधिक गतिविधि हुन दिइने छैन, नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन कुनै कमी गरिने छैन ।” हालैको आन्दोलनका कारण उत्पन्न भय र असुरक्षा चिर्नै विशेष योजना तयार गरिएको उनले स्पष्ट पारे ।
पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी गरी आठै जिल्लामा औसत ८ सय प्रहरी परिचालन हुनेछन् । यस अवधिमा ४८ वटा क्यूआरटी, १९ वटा स्ट्राइकिङ टोली, ११६ चेकिङ स्थल, १२६ मोबाइल गस्ती, २१२ पैदल गस्ती, ३२५ पिकेट गस्ती, २६ राजमार्ग स्कर्टिङलगायतका व्यवस्था मिलाइएको छ । साथै, ८६ टोली धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षामा, १०३ टोली बैंक तथा वित्तीय संस्थामा र १४ टोली बजार अनुगमनमा खटाइनेछन् ।
जेनजी आन्दोलनका कारण मधेस अझै जोखिमयुक्त रहेको सुरक्षात्मक मूल्यांकन छ । आन्दोलनमा प्रयोग भएका वा लुटिएका हतियारको दुरुपयोग हुनसक्ने जोखिम देखिएकाले योजनाबद्ध अनुगमन र नियन्त्रण अपरिहार्य रहेको प्रहरीको भनाइ छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीले नागरिकलाई ढुक्क भएर पर्व मनाउन अपील गर्दै भने, “बैंक, सुनचाँदी पसल र भिडभाड हुने क्षेत्रलाई लक्षित गरी विशेष टोली खटिएका छन् । बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि वा ठगी रोक्न पनि प्रहरी सक्रिय हुनेछन् ।”
उनका अनुसार सहायक नाकामा सरप्राइज चेकिङ, लामो तथा छोटो दुरीको पेट्रोलिङ, सार्वजनिक सवारीमा बढी भाडा असुल्न रोकथाम, आतिशबाजी र पटका नियन्त्रण, अवैध मदिरा तथा जुवातासजस्ता गतिविधि नियन्त्रणका लागि कडा निर्देशन जारी गरिएको छ ।
सीमाक्षेत्रका संवेदनशील नाकामा समेत विशेष टोली परिचालन गरिएको छ । समग्रमा, व्यापक प्रहरी तैनाथीमार्फत भयरहित वातावरण सिर्जना गरेर दसैँ, तिहार र छठ सुरक्षित र शान्तिपूर्ण रूपमा मनाउन सकिने व्यवस्था मिलाइने प्रदेश प्रहरीको दाबी छ ।

