काठमाडौं ११ असोज । विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले सुविधा स्वरूप प्राप्त गाडी फिर्ता गरेका छन् ।
संसद सचिवालयको सवारी शाखा प्रमुख प्रदीप नेपालका अनुसार १२ वटा विषयगत समितिका सभापति र चार जना प्रमुख सचेतक तथा सचेतकले प्रयोग गर्दै आएका गाडी फिर्ता गरिएको हो । प्रतिनिधि सभा अन्तर्गत रहेका १० वटा विषयगत समितिका सभापतिसहित संयुक्त दुई समितिका सभापतिले पनि गाडी बुझाइसकेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा सचेतकले गाडी फिर्ता गरेका छन् भने नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी भने गत भदौ २४ गते सिंहदरवारमा लागेको आगलागीमा जलेको थियो । सो आगलागीले कांग्रेस र एमाले दुवैको संसदीय दलको कार्यालय समेत प्रभावित बनाएको थियो ।
सरकारले मितव्ययिता नीति अवलम्बन गर्ने निर्णयअनुसार पूर्वराजनीतिक पदाधिकारीहरूले प्रयोग गर्दै आएका गाडी फिर्ता गराउने प्रक्रिया अघि बढाइएको छ । यसै क्रममा संसद सचिवालयले पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्षलगायतका गाडी पनि फिर्ता गर्ने तयारी थालेको जनाएको छ ।

