काठमाडौं, १२ असोज । जेनजी प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ६५ सयभन्दा बढी गोली प्रहार गरेको आन्तरिक प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रहरी प्रधान कार्यालयले तयार गरेको प्रतिवेदनअनुसार तीमध्ये करिब ४ हजार जङ्गी राउन्ड र २५ सयभन्दा बढी रबर बुलेट प्रयोग गरिएको छ ।
प्रहरीको लुटिएका हतियार र खर्च भएका गोली–बारुदको विवरण संकलन गर्न आन्तरिक समिति गठन गरिएको थियो । अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको उक्त समितिले प्रतिवेदन तयार गरी प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई बुझाएको हो ।
समितिको प्रतिवेदनअनुसार भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा मात्र करिब ४ हजार जङ्गी राउन्ड प्रयोग भएको उल्लेख छ । त्यस्तै, काठमाडौँको बानेश्वरलगायत देशभर २५ सयभन्दा बढी रबर बुलेट प्रहार गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
भिड नियन्त्रणका क्रममा प्रहरीले २५ सयभन्दा बढी ब्ल्यांक राउन्ड फायर गरेको पनि प्रतिवेदनमा उल्लेख छ । ब्ल्यांक राउन्ड प्रहार गर्दा आवाज मात्र आउने भए पनि त्यसलाई भीड नियन्त्रणको उपायका रूपमा प्रयोग गरिएको हो ।
यसबाहेक प्रहरीले प्रदर्शन नियन्त्रणका लागि ८ हजार सेल अश्रुग्याँस प्रहार गरेको उल्लेख छ । काठमाडौँ उपत्यकामा मात्र ४ हजार सेल अश्रुग्याँस प्रयोग गरिएको छ । उपत्यकाभित्र बानेश्वर, माइतिघर, कालीमाटी, थिमी र मालिगाउँ क्षेत्रलाई अश्रुग्याँसले प्रभावित तुल्याइएको प्रतिवेदनमा जनाइएको छ ।
प्रहरी प्रधान कार्यालय जोगाउने क्रममा मात्र १३ सय राउन्ड अश्रुग्याँस प्रहार गरिएको उल्लेख छ । मधेस प्रदेशमा पनि करिब ६ सय सेल अश्रुग्याँस प्रयोग गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

