काठमाडौं, १३ असोज । काठमाडौंको काष्ठमण्डप नजिकै आइतबार बिहान साढे ४ बजे सुरू भएको आगलागी अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको दुईतले घरमा रहेको कपडाको गोदामबाट आगलागी सुरु भएको हो।
“आगो करिब ९० प्रतिशत नियन्त्रणमा आएको छ, बाँकी निभाउने कार्य जारी छ,” डीएसपी चन्दले भनिन्।
आगलागीमा तीनवटा घर र एउटा मन्दिर प्रभावित भएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरीसहितको टोलीले आगो निभाउने प्रयास जारी राखेको छ।
काठमाडौं–भक्तपुर क्षेत्रमा उपलब्ध नौवटा दमकल र तीनवटा पानी ट्यांकी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ।
स्थानीयवासीका अनुसार आगो कपडाको गोदामबाट फैलिएको हो। तर आगलागीको कारण अझै निश्चित हुन सकेको छैन।

