काठमाडौं २२ असोज । यौन दुराचारसहित विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको ठहरपछि सात जना नेपाली नागरिकलाई अमेरिकाले देशनिकाला गरेको छ । अमेरिकाको अध्यागमन अदालतले जारी गरेका आदेशअनुसार ती सबैलाई क्रमशः विभिन्न विमानस्थल हुँदै नेपाल पठाइएको हो ।
अमेरिकाबाट सञ्चालित खसोखास डटकम का अनुसार, देशनिकालामा परेका व्यक्तिहरूको उमेर २८ देखि ३९ वर्षबीचको रहेको छ । उनीहरू यौन दुराचार, शारीरिक दुव्र्यवहार, डकैती, हतियार प्रयोग गरी आक्रमण, नाबालिगलाई अश्लील उद्देश्यका लागि च्याटमार्फत प्रलोभन दिने, तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेजस्ता आपराधिक अभियोगमा संलग्न रहेका थिए।
अमेरिकी प्रशासनले उनीहरूलाई न्युयोर्कको जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, नेवार्क अन्तर्राष्ट्रिय विमानस्थल, लोगन अन्तर्राष्ट्रिय विमानस्थल, साथै भर्जिनिया, एरिजोना र टेक्सास राज्यहरूबाट नेपाल पठाएको जनाएको छ।
देशनिकालाको क्रम
यौन आक्रमण र शारीरिक दुव्र्यवहारको अभियोगमा दोषी ठहर ३९ वर्षीय एक नेपालीलाई गत अप्रिल २४ मा अदालतले देशनिकालाको आदेश दिएको थियो। उनलाई जुलाई १५ मा न्युयोर्कको जोन एफ. केनेडी विमानस्थल हुँदै नेपाल फर्काइएको हो ।
त्यसैगरी, मेरिल्याण्डमा बसोबास गर्दै आएका ३६ वर्षीय एक नेपालीलाई जनवरी १७ मा देशनिकालाको आदेश दिइएपछि उनी मार्च ६ मा नेवार्क अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल फर्काइएका थिए।
डकैतीमा संलग्न २८ वर्षीय एक नेपालीलाई जुन १० मा एरिजोनाबाट, हतियारको प्रयोग गरी आक्रमणमा दोषी ठहर ३४ वर्षीय नेपालीलाई अप्रिल २९ मा लोगन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल पठाइएको हो।
त्यसैगरी, टेक्सासमा बसोबास गर्दै आएका ३० वर्षीय नेपाली नाबालिगलाई अश्लील च्याटमार्फत प्रलोभन दिएको अभियोगमा सन् २०२४ डिसेम्बर ९ मा दोषी ठहर भएका थिए। उनी यस वर्ष जुन ३ मा भर्जिनियाबाट डिपोर्ट भएका हुन्।
मेरिल्याण्डमा बस्दै आएका अर्का ३५ वर्षीय नेपाली पनि सोही किसिमको अभियोगमा दोषी ठहर भई जुन १० मा एरिजोनाबाट नेपाल पठाइएका छन्।
यसैबीच, ३७ वर्षीय अर्को नेपाली मादक पदार्थ सेवन गरी सवारी चलाएको अभियोगमा सन् २०११ मार्च २९ मा दोषी ठहर भएका थिए। अमेरिकी अध्यागमन अदालतले सन् २०१७ जुलाई १९ मा देशनिकालाको आदेश दिएपछि उनी हालै टेक्सासबाट कतार हुँदै नेपाल फर्काइएका हुन्।
अमेरिकी नीति र नेपाली नागरिकप्रति प्रभाव
सन् २०१७ मा डोनाल्ड ट्रम्प प्रशासनले अध्यागमन नीति कडाइ गरेपछि आप्रवासी समुदायमाथिको निगरानी तीव्र पारिएको थियो। उक्त अवधिमा आपराधिक अभिलेख भएका आप्रवासीहरूलाई प्राथमिकताका साथ देशनिकाला गरिने नीति लागू गरिएको थियो। सोही नीति अन्तर्गत पछिल्ला सात नेपाली नागरिक पनि नेपाल फर्काइएका हुन्।
अमेरिकी अध्यागमन निकायका अनुसार, आप्रवासनसम्बन्धी कानुन उल्लङ्घन गर्ने वा आपराधिक अभियोगमा दोषी ठहर हुने विदेशी नागरिकलाई अमेरिकामा बस्न नदिइने प्रावधान रहेको छ।

