काठमाडौँ २२ असोज । यस वर्षको मनसुनका कारण बाढी–पहिरोबाट क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणमा १० अर्ब ६८ करोड रुपैयाँ, र गत वर्षका क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बाढी–पहिरोका कारण अवरुद्ध भएका सडकलाई शीघ्र सञ्चालनमा ल्याउने कार्य उच्च प्राथमिकतामा रहेको बताए। उनका अनुसार उपकरण र जनशक्ति परिचालन गरी तत्काल सडक सञ्चालनका काम तीव्र पारिएको छ भने मन्त्रालय र मन्त्री आफैंले नियमित अनुगमन गरिरहेका छन्।
सबैभन्दा बढी क्षति मेची राजमार्गमा
यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा ठूलो क्षति मेची राजमार्गमा पुगेको छ। सो राजमार्गको पुनर्निर्माणका लागि मात्रै १ अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।
त्यसैगरी, कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति तथा नारायणघाट–मुग्लिङलगायतका राजमार्ग पुनर्निर्माणका लागि ३ अर्ब ७७ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
पुल तथा वैकल्पिक सडक पुनर्निर्माण
क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणका लागि ४ अर्ब ५२ करोड रुपैयाँ, नयाँ बेलिब्रिज निर्माण तथा मर्मतका लागि ८० करोड रुपैयाँ, र वैकल्पिक सडक पुनर्निर्माणका लागि १ अर्ब ५९ करोड रुपैयाँ आवश्यक पर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पुनर्निर्माण कार्यका लागि बजेट सुनिश्चितता, उपकरण परिचालन र स्थानीय तहसँग सहकार्य गरी छिटो छरितो काम अघि बढाइने योजना तयार गरिएको छ।

