जनकपुरधाम, २५ असोज । महागंगा आरती गंगासागरका सूत्रधार तथा मधेश प्रदेश सांसद रामअशिष यादवलाई शान्तिका अग्रदूत महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा विशेष सम्मान गरिएको छ ।
जनकपुरधामको पवित्र सरोवर गंगासागरको नियमित सफाइ अभियान र भव्य महागंगा आरती सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पु¥याएको कारण सांसद यादवलाई सम्मान गरिएको हो ।
अखिल भारतीय प्राकृतिक चिकित्सा संघद्वारा जनकपुरधाममा आयोजित विशेष समारोहमा सांसद यादवलाई महात्मा गान्धीले स्थापना गरेको हरिजन सेवक संघका अध्यक्ष प्रा. डा. शंकर कुमार संयाल र भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत डी.एस. मीनाले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा वक्ताहरूले सांसद यादवको समाजसेवा, धार्मिक पर्यटन प्रवद्र्धन तथा जनकपुरधामलाई स्वच्छ र आध्यात्मिक केन्द्रका रूपमा स्थापित गर्न गरेको प्रयासको प्रशंसा गरेका थिए ।
गंगासागरमा हरेक साप्ताहिक महागंगा आरती सञ्चालन, सरसफाइ तथा धार्मिक चेतनाको अभियानलाई सांसद यादवले नेतृत्व गर्दै आएका छन् । यही सक्रियता र जनसमर्पणका कारण उहाँलाई यो विशेष अवसरमा सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

