जनकपुरधाम, २६ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको एकताको प्रथम अधिवेशन भोलि सोमवारदेखि जनकपुरधाममा शुरु हुने भएको छ । प्रेम मञ्च नेपाल प्रदेश कार्य समितिको आयोजनामा आईतवार पत्रकार सम्मेलन गरी प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवले दुई दिनसम्म चल्ने अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका हुन् ।
अध्यक्ष यादवका अनुसार यस अधिवेशनले पार्टीलाई नयाँ दिशातर्फ अग्रसर गराउने र संगठनलाई सुदृढ बनाउने रणनीतिक निर्णयहरू गर्नेछ । अधिवेशनमा करिब ५०० जना प्रतिनिधि र १०० जना पर्यवेक्षकको सहभागिता रहने जनाएका छन् ।
यादवले पत्रकार सम्मेलनमा ऐतिहासिक पृष्ठभूमि स्मरण गर्दै भने, “हाम्रो पार्टी तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल ऐतिहासिक मधेश जनविद्रोहको बलमा गठन भएको हो । मधेसी, दलित, आदिवासी–जनजाति, महिला, मुस्लिम, थारु, अल्पसंख्यक, मजदुर, किसान तथा पिछडिएका वर्गको समानुपातिक समावेशी अधिकार सुनिश्चित गर्न हाम्रो पार्टी निरन्तर संघर्षरत छ ।”
उहाँले पार्टी एकतापछि हुन लागेको यो पहिलो प्रदेश अधिवेशनले संविधान संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, संवैधानिक अदालत गठन तथा सामाजिक न्याय र सुशासन सुनिश्चित गर्ने पार्टीको दीर्घकालीन मुद्दालाई रणनीतिक रूपमा अघि बढाउने बताए।
“हाम्रो पार्टीले उठाएका मुद्दा आजको जेन जेड पुस्ताले पनि बोकेका छन् । संविधान संशोधनदेखि समानुपातिक समावेशी शासन प्रणालीका लागि हाम्रो संघर्ष एक दशकभन्दा बढी पुरानो हो । यही संघर्षलाई नयाँ सन्दर्भमा अझ सशक्त बनाउँदै लैजाने जिम्मेवारी यस अधिवेशनले लिनेछ,” यादवले भने।
कार्यक्रमको प्रारम्भमा पार्टीले देश र जनताका लागि बलिदान दिने ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नेछ । यसैगरी अधिवेशनले नयाँ नेतृत्व चयनसहित संगठन विस्तार र राजनीतिक कार्यक्रमलाई तिव्रता दिने अपेक्षा गरिएको छ।
अध्यक्ष यादवले न्यायप्रेमी जनसमुदाय, प्रतिनिधि तथा पत्रकारहरूप्रति अधिवेशनमा सक्रिय सहभागिता र सहयोगको अपील गरेका छन् ।
मञ्चका प्रदेश अध्यक्ष अमरेन्द्र यादवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्व मन्त्री एवं जसपा नेता ज्ञानेन्द्र यादव, केन्द्रिय सदस्य चन्देश्वर सदा, जिल्ला अध्यक्ष पशुपति यादव, नेता शत्रुधन प्रसाद यादव सहितका व्यक्तिहरु सहभागी रहेका थिए ।

