जनकपुरधाम, २७ असोज । मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूले निजी अस्पतालहरूले श्रम ऐनको कार्यान्वयन नगरेको, तलब भत्ता नदिएको र शोषणमूलक व्यवहार गरेको आरोप लगाउँदै शान्तिपूर्ण आन्दोलनमा जाने चेतावनी दिएका छन ्।
धनुषा जिल्ला तथा मधेश प्रदेश अन्तर्गतका विभिन्न निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले पत्रकार सम्मेलन गरी आठ बुँदे माँग राख्दै आफ्नो माँग पुरा नभएमा बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन ।
उनहरूले मन्त्रालयबाट पटक–पटक सूचना जारी गरिए पनि निजी अस्पतालहरूले त्यसलाई कार्यान्वयन नगरेको आरोप लगाएका छन् । यसअघि स्वास्थ्यकर्मीहरूले जिल्ला प्रशासन कार्यालय, श्रम मन्त्रालय, मुख्यमन्त्री कार्यालय तथा मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ध्यानाकर्षण गराइसके पनि कुनै उपलब्धिमूलक पहल नभएको गुनासो गरेका छन् ।
उनीहरुले स्वास्थ्यकर्मीहरूले श्रम अधिकार र कार्य वातावरण सुनिश्चित गर्न निम्न मागहरू अघि सारेका छन् ।
प्रत्येक निजी अस्पतालमा नेपाल सरकारको ऐन अनुसार तलब स्केल लागू गर्नुपर्ने, सरकारी स्वास्थ्य संस्थामा करारमा रहेका कर्मचारी हटाई प्रदेश लोक सेवामार्फत विज्ञापन गर्नुपर्ने ।
स्वास्थ्यकर्मीको सुरक्षा र बीमाको व्यवस्था हुनुपर्ने। हप्तामा ४२ घण्टा मात्र कार्य समय निर्धारण गर्नुपर्ने। स्वास्थ्यकर्मीका परिवारका लागि निःशुल्क उपचार सुविधा उपलब्ध गराउनुपर्ने । मन्त्रालयले तोकेको अनुसार निजी तथा सरकारी अस्पतालमा समान विज्ञापन प्रक्रिया लागू गर्नुपर्ने । निजी अस्पतालमा विदा, सेवा सुविधा र भत्ताको व्यवस्था हुनुपर्ने। वार्षिक १० प्रतिशत तलब वृद्धि सुनिश्चित गर्नुपर्ने लगायतको माँग राखेका छन् ।
स्वास्थ्यकर्मीहरुले मागहरू पूरा नभए आगामी कार्तिक १६ गते (आईतवार) देखी मधेश प्रदेशका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले अस्पताल खाली गरी शान्तिपूर्ण आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् । आन्दोलनका क्रममा बिरामीलाई परेको सम्भावित समस्याको जिम्मेवारी निजी अस्पतालका सञ्चालक तथा सम्बन्धित मन्त्रालयले लिनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ।
स्वास्थ्यकर्मीहरूले आफ्ना माग आगामी पुस्ताका स्वास्थ्यकर्मीहरूको हक अधिकारका लागि पनि भएको बताउँदै सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरेका छन्।

