जनकपुरधाम, ७ कात्तिक । हिन्दू धर्मावलम्बीहरूको महान् आस्थाको पर्व छठ पूजालाई लक्षित गर्दै गणेश युवा कमिटी जनकपुरधामले दलित, विपन्न तथा सीमान्तकृत समुदायकी महिलाहरूलाई साडी वितरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच कमिटीको कार्यालयमा सम्पन्न साडी वितरण कार्यक्रममा झण्डै अढाई सयजना महिलाहरू सहभागी भएका थिए ।
गणेश युवा कमिटीका अध्यक्ष सन्तोष कुमार महतोका अनुसार छठ पर्व श्रद्धा, निष्ठा र आस्थासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व हो, जसमा महिलाहरू सूर्यदेव र छठी माईको आराधना गर्दै नयाँ वस्त्र परिधान गर्ने परम्परा रहिआएको छ । यही परम्परालाई सम्मान गर्दै आर्थिक रूपमा कमजोर महिलाहरूलाई सहयोगस्वरूप साडी वितरण गरिएको उनले बताए ।
उनका अनुसार छठ पर्व केवल धार्मिक विधि मात्र नभई सामाजिक एकता र सह–अस्तित्वको पनि सन्देश दिने पर्व हो । त्यसैले गणेश युवा कमिटीले यस अवसरमा साडी वितरणमार्फत समाजका सबै वर्गलाई धार्मिक उत्सवमा सहभागी गराउने प्रयास गरेको हो ।
अध्यक्ष महतोले गणेश युवा कमिटीले विगतदेखि नै जनकपुरधाममा धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि समाजकल्याणका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीयहरूले कमिटीको उक्त प्रयासको प्रशंसा गर्दै यस्तो सहयोगले छठ पर्वमा खुशीका साथ सहभागी हुन नपाएका सीमान्तकृत महिलाहरूमा उत्साह जगाएको प्रतिक्रिया दिएका छन् ।

