जनकपुरधाम, १६ कात्तिक । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व छठको अवसरमा यस वर्ष जनकपुरधाममा करिब एक करोड रुपैयाँ बराबरको नेपाली केरा बिक्री भएको छ । भारतीय केरामा रोक लगिएको कारण बजारमा नेपाली केराको माग अत्यधिक बढेको छ ।
जनकपुर फलफुल तथा तरकारी व्यवसायी संघका महासचिव भूवनेश्वर पूर्वेका अनुसार भारतबाट केरा आयातमा प्रतिबन्ध भएपछि व्यापारीहरूले नवलपरासी, चितवन, सर्लाही, महोत्तरी, सुनसरी र झापा जिल्लाबाट नेपाली केरा झिकेर बिक्री गरेका हुन ्। उनले भने, “छठ पर्वमा केराको माग असाधारण रूपमा बढ्छ । यस वर्ष भारतीय केरा रोकिएपछि हामीले नेपालमै उत्पादन भएका केरालाई बजारमा ल्यायौं र ग्राहकको प्रतिक्रिया अत्यन्त सकारात्मक रह्यो ।”
प्लान्ट क्वारेन्टाइन तथा विषाधी व्यवस्थापन केन्द्रको सचिवस्तरीय निर्णयअनुसार भारतीय केरामा रोग किरा देखिएपछि अस्थायी रूपमा आयातमा रोक लगाइएको थियो । यसले व्यापारीहरूलाई नेपालमै उत्पादन बढाउन प्रोत्साहित गरेको छ । व्यवसायीहरूले बताए अनुसार नेपाली केराको गुणस्तर र स्वाद पनि राम्रो भएपछि उपभोक्ताले सजिलै स्वदेशी उत्पादन रोजेका छन् ।
तर, नेपाली केराको लोकप्रियता बढे पनि अन्य फलफुल अझै पनि भारतमा निर्भर छन् । क्वारेन्टाइन कार्यालय जलेश्वरका प्रमुख किशोर कुमार यादवले बताए अनुसार यस वर्ष भारतबाट ३४ लाख १० हजार ७ सय ८६ किलो फलफुल नेपालमा भित्रिएको छ, जसको मूल्य करिब २८ करोड ५९ लाख ९६ हजार रुपैयाँभन्दा बढी रहेको छ । भिठामोड नाकाबाट भित्रिएका यी फलफुलमा स्याउ, अंगुर, अम्बा, आँप, सुन्तला, सरिफा, मेवा, बैर, अनार र नारियल प्रमुख छन् ।
छठ जस्तो पर्वमा फलफुलको खपत उच्च हुने भएकाले भारतबाट आयात अनिवार्य बनेको छ। तर सीमास्तरीय जाँच र ढुवानी खर्चका कारण बजारमा मूल्य वृद्धि भएको व्यापारीहरूले बताए। उपभोक्ताहरूले पनि महँगोमा फलफुल किन्नुपरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। जनकपुरधामकी उपभोक्ता रेणु देवी साह भन्छिन्, “गत वर्षको तुलनामा यस वर्ष फलफुल धेरै महँगो भयो। छठमा फलफुल पूजा बिना अधुरो हुन्छ, त्यसैले महँगो भए पनि किनेरै गर्नुप¥यो ।”कृषि विज्ञहरूको अनुसार नेपालमा केरा, अम्बा, तरबूजा, पपैया लगायतका फलफुल उत्पादनको ठूलो सम्भावना छ । तर, बजार व्यवस्थापन र सरकारी सहयोग नहुँदा किसानहरू निरुत्साहित हुने गरेको पाइन्छ । महोत्तरीका कृषक रामनाथ यादवका अनुसार, “सरकारले उचित मूल्य र बजारको ग्यारेन्टी दिए, हामीजस्ता किसानले केरामात्र होइन, अन्य फलफुल पनि ठूलो परिमाणमा उत्पादन गर्न सक्छौं ।”
छठ जस्तो पर्वले स्थानीय उत्पादनको सम्भावनालाई उजागर गरेको छ। जनकपुर फलफुल व्यवसायी संघका अध्यक्षले भने, “भारतीय केरामा रोक लगिएपछि नेपाली केराले बजार कब्जा ग¥यो । अब सरकारले दीर्घकालीन रणनीति बनाएर आत्मनिर्भर फलफुल उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ ।”
यस वर्षको छठमा नेपाली केराको बिक्रीले उपभोक्ता, व्यापारी र किसान सबैको अनुभव फरक बनाएको छ। उपभोक्ताले महँगोमा फलफुल किनेपनि आस्था पूरा गरेका छन् भने किसान र व्यापारीले स्थानीय उत्पादनको महत्व र सम्भावना महसुस गरेका छन्।

