जनकपुरधाम । १२ पुस । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा एशियाली विकास बैंकको प्राविधिक सहयोग, क्लिन कुकिङ एलायन्सको नेतृत्व तथा एसपीआइ नेपाल र जानकी महिला जागरण समाज (जवास) को सहकार्यमा सञ्चालन भएको स्वच्छ खाना पकाउने ऊर्जा प्रवर्द्धन परियोजनाले ऊर्जाको प्रयोग संस्कारमै परिवर्तन ल्याउन थालेको बताइएको छ।
परियोजनाअन्तर्गत एक हजार दुई सय घरपरिवारलाई सहुलियत दरमा विद्युतीय चुलो वितरण गरिएको छ। चुलोसँगै स्टिल तथा नन–स्टिक भाँडाकुडा निःशुल्क उपलब्ध गराइएको थियो, जसमा गणेशमान चारनाथ नगरपालिकाले आवश्यक सहयोग पुर्याएको जनाइएको छ।
सहुलियत दरमा चुलो वितरणको पहिलो चरण समापनको अवसरमा स्वच्छ खाना पकाउने ऊर्जा प्रवर्द्धन तथा ‘क्लिन कुकिङ च्याम्पियन’ सम्मान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा क्लिन कुकिङ एलायन्सकी नेपाल प्रतिनिधि करुणा बज्राचार्यले विद्युतीय चुलोको प्रयोगले कार्बनरहित खाना पकाउने वातावरण निर्माणमा उल्लेखनीय योगदान पुर्याउने बताइन्। उनका अनुसार धुवामुक्त भान्साले स्वास्थ्य जोखिम घटाउनुका साथै एलपीजी ग्यासको खर्च बचत गर्ने र विदेशी मुद्रा जोगाउने सम्भावना समेत बढाएको छ।
एसपीआइ नेपालकी प्रबन्ध निर्देशक सरिता कार्कीले एलपीजी ग्यासप्रतिको निर्भरता घटाउँदै स्वदेशी विद्युत् ऊर्जाको खपत बढाउने दिशामा यो अभियान महत्वपूर्ण रहेको बताइन्। स्वास्थ्य, वातावरण र अर्थतन्त्रलाई एकसाथ जोड्ने भएकाले यसलाई ‘त्रिकोणात्मक फाइदा’ दिने कार्यक्रमका रूपमा लिन सकिने उनको भनाइ थियो।

कार्यक्रममा गणेशमान चारनाथ नगरपालिकाका मेयर जितनारायण यादवले नगरपालिकाले स्वच्छ ऊर्जा प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी साथ रहने प्रतिबद्धता जनाए।
कार्यक्रमको आकर्षणका रूपमा विद्युतीय चुलोमा खाना पकाउने प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रतियोगितामा वडा नं. ३ की प्रीति श्रेष्ठ प्रथम, वडा नं. १ की ज्ञानदेवी पण्डित द्वितीय र वडा नं. ६ की शिवकुमारी धमला तृतीय हुन सफल भए। विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। यसै अवसरमा २६ जना महिलालाई ‘क्लिन कुकिङ च्याम्पियन’ घोषणा गरी सम्मान गरिएको थियो। पुरस्कार तथा प्रमाणपत्र मेयर यादव, क्लिन कुकिङ एलायन्सकी प्रतिनिधि बज्राचार्य तथा जवास अध्यक्ष मन्दा कर्णलगायतका अतिथिहरूले वितरण गरेका थिए।
जवासका कार्यकारी निर्देशक राजन नेपालले यो अभियान केवल चुलो वितरणमा सीमित नभई स्वच्छ ऊर्जाप्रति चेतना र व्यवहार परिवर्तन गराउने दीर्घकालीन प्रयास भएको बताए। विद्युतीय तथा धुवामुक्त चुलो प्रयोगको संस्कार बसाल्न सकिए स्वास्थ्य, वातावरण र अर्थतन्त्र—तीनै क्षेत्रमा सकारात्मक परिवर्तन देखिने उनको भनाइ थियो।
जवास अध्यक्ष मन्दा कर्णको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन एसपीआइ नेपालकी किरण चौधरीले गरेकी थिइन्।

