जनकपुरधाम, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले तराई–मधेशसहित देशको समग्र विकास चाहनेहरूलाई ‘घण्टी’ चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।
जनकपुरधाममा मैथिली ठेठ भाषामा सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिकामा पाएको अवसरको उदाहरण दिँदै भने, “काठमाडौंवासीले मलाई काम गर्ने मौका दिए, मैले काम गरेर देखाएँ । अब देशलाई पनि त्यही अवसर दिनुहोस्, काठमाडौंजस्तै विकास गरेर देखाउँछु ।”
उनले स्पष्ट पारे, “घण्टीमा भोट कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि होइन, सही मान्छेलाई अवसर दिनका लागि हो । मधेशी छोरा प्रधानमन्त्री बन्ने सपना पूरा गर्न सही समयमा सही ठाउँमा मत हाल्नुपर्छ ।”
आफ्नो सम्बोधनको सुरुवातमा उनले विभिन्न आन्दोलनमा सहिद भएका ज्ञात–अज्ञात सहिदप्रति सम्मान व्यक्त गरे । आफू भाषणभन्दा काममा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै उनले भने, “म काम गरेर देखाउने मान्छे हुँ । मलाई काम गर्न दिनुहोस् ।”

डेढ महिनाअघि रामजानकी विवाह महोत्सवका क्रममा जनकपुर आएको स्मरण गर्दै बालेनले मिथिलाको सम्भावनातर्फ ध्यानाकर्षण गराए । “राम–जानकीजस्तो विश्वप्रसिद्ध जोडीको विवाहस्थल यही हो, तर हामी विवाहका लागि जयपुर र बाली जान्छौँ । मिथिलामा किन ‘डेस्टिनेशन वेडिङ’ हुँदैन ?” भन्दै उनले सरकारको नीति र व्यवस्थापनप्रति प्रश्न उठाए ।
उनले मधेशमा सबै जातजातिका मानिस एकै ठाउँमा जुटिनु सकारात्मक संकेत भएको बताउँदै जनकपुर बोर्डजस्तै समावेशी र सन्तुलित विकास मधेशमा आवश्यक रहेको धारणा राखे ।प्रदेश संरचनाबारे बोल्दै उनले प्रदेशलाई अझ बलियो बनाउनुपर्ने बताए । “जनकपुर प्रदेशको राजधानी हो । सामान्य प्रशासनिक कामका लागि पनि काठमाडौं धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ,” उनले भने । काठमाडौं मेयरको रूपमा आफूले गरेका काम उल्लेख गर्दै बालेनले ३५ वटा पालिकाका लागि एम्बुलेन्स व्यवस्था गरिएको उदाहरण दिए । “संघ सरकारमा पुग्ने अवसर पाएँ भने कति काम गर्न सकिन्छ, आफैं सोच्नुहोस्,” उनले भने ।समाजवादको अर्थ व्याख्या गर्दै उनले काठमाडौं महानगरपालिकाले हरेक वर्ष २० हजार विद्यार्थीलाई छात्रवृत्ति दिने र विपन्नका लागि अस्पतालमा निःशुल्क बेडको व्यवस्था गरेको उल्लेख गरे । “यही समाजवाद सातै प्रदेश र ७५३ वटै पालिकामा आवश्यक छ,” उनले जोड दिए ।
मिथिला र जनकपुरका पोखरी, मन्दिर, पाटी–पौवा संरक्षणको खाँचो औँल्याउँदै उनले त्यसको जिम्मा रास्वपाले लिने प्रतिबद्धता जनाए । पर्यटनको सम्भावनाबारे बोल्दै बालेनले भने, “देशभर वार्षिक १० लाख पर्यटक आउँछन्, तर अयोध्यामा मात्र १० करोड पुग्छन् । जानकी माताको शक्तिले एक्लै एक करोड पर्यटक तान्न सक्छ ।” सम्बोधनको अन्त्यमा उनले फेरि दोहो¥याए, “मधेशी छोरा प्रधानमन्त्री बन्नका लागि सही मान्छेलाई सही समयमा ‘घण्टी’मा भोट दिनुस् ।”
ओलीसँग सीधा प्रतिस्पर्धा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि औपचारिक रूपमा उम्मेदवारीको टिकट प्राप्त गरेका छन् । पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा बालेनलाई टिकट हस्तान्तरण गरिएको हो ।
रास्वपाको चुनावी सभाका क्रममा सभापति लामिछाने र वरिष्ठ नेता बालेन दुवै जनकपुर पुगेका बेला टिकट प्रदान गरिएको पार्टी स्रोतले जनाएको छ । यससँगै झापा–५ मा बालेनको उम्मेदवारी औपचारिक रूपमा निश्चित भएको छ ।
झापा–५ लाई नेपाली राजनीतिमा अत्यन्त चासोका साथ हेरिने निर्वाचन क्षेत्रका रूपमा लिइन्छ । यस क्षेत्रबाट लामो समयदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुँदै आएका छन् । बालेन र ओलीबीच हुने प्रतिस्पर्धालाई स्थापित राजनीतिक धार र नयाँ राजनीतिक विकल्पबीचको टक्करका रूपमा विश्लेषण गर्न थालिएको छ ।
रास्वपाले बालेनलाई झापा–५ मा अघि सार्नुको उद्देश्य नयाँ राजनीतिक विकल्पको सन्देश दिनु र स्थापित नेतृत्वलाई चुनौती प्रस्तुत गर्नु रहेको पार्टी नेताहरूको भनाइ छ । स्पष्ट र आलोचनात्मक अभिव्यक्तिका कारण बालेन युवामाझ लोकप्रिय रहँदै आएका छन् ।
जनकपुरमा आयोजित सभामा बालेनले मैथिली भाषामा सम्बोधन गर्दै मधेश, सुशासन, रोजगारी र राजनीतिक सुधारका विषयलाई प्राथमिकताका साथ उठाएका थिए । उनले राजनीतिमा नयाँ सोच, इमानदार नेतृत्व र जनउत्तरदायी शासन प्रणाली आवश्यक रहेको उल्लेख गर्दै आफू परिवर्तनको प्रतिनिधिका रूपमा चुनावी मैदानमा उत्रिएको बताए ।
यता, रास्वपाले झापा–५ लाई प्रतिष्ठाको निर्वाचन क्षेत्रका रूपमा लिएर आक्रामक चुनावी रणनीति बनाइरहेको जनाएको छ । टिकट वितरणसँगै बालेन छिट्टै झापा पुगेर मतदाता भेटघाट तथा चुनावी अभियान सुरु गर्ने तयारीमा छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा झापा–५ मा हुने यो प्रतिस्पर्धा राष्ट्रिय राजनीतिमा विशेष चासोका साथ हेरिने निश्चित देखिएको छ ।

