जनकपुरधाम १० माघ । मधेश प्रदेश सभाको आठौँ वार्षिकोत्सव तीन दिने कार्यक्रमसहित मनाइने भएको छ।
वार्षिकोत्सवको तयारी, व्यवस्थापन तथा समन्वयका विविध पक्षमा छलफल गर्न बसेको बैठकपछि माघ १९, २० र २१ गते विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय भएको मधेश प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिनुभयो।
सभामुख यादवका अनुसार वार्षिकोत्सव कार्यक्रम समावेशी र प्रदेश सभाको गरिमालाई प्रतिबिम्बित गर्ने ढंगले सम्पन्न गरिनेछ। विगत वर्षको तुलनामा यस वर्ष बजेट केही कम भए पनि कार्यक्रमको गुणस्तरमा कुनै कमी हुन नदिइने र बरु केही नयाँ कार्यक्रम थप गरिने उहाँले स्पष्ट पार्नुभयो।
यस वर्षको वार्षिकोत्सवका अवसरमा मधेश प्रदेशको आर्थिक समृद्धिबारे विशेष बहस आयोजना गरिनेछ। उक्त बहसको अगुवाइ मधेश प्रदेशका पूर्व नीति तथा योजना आयोगका उपाध्यक्ष तथा प्रख्यात अर्थशास्त्री प्राध्यापक डा. भोगेन्द्र झा व्यथितले गर्ने कार्यक्रम रहेको छ।

