जनकपुरधाम, ११ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सचिव संजय कुमार चौधरी तथा केन्द्रीय अनुशासन विभागका अध्यक्ष संजय कुमार सिंहसहित करिब दुई दर्जन नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राजेन्द्र महतोको नेतृत्वमा रहेको राष्ट्रिय मुक्ति पार्टी नेपाल परित्याग गर्ने निर्णय सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर असन्तुष्टि जनाउँदै नेपाल आज गहिरो राजनीतिक संकट र दिशाहीनतामा फसेको उल्लेख गरिएको छ ।
दलगत संकीर्णता, अवसरवाद र व्यक्तिकेन्द्रित राजनीतिले देश र जनतालाई थप निराशातर्फ धकेलेको निष्कर्षमा आफूहरू पुगेको जनाउँदै, विज्ञप्तिमा पार्टीगत आवरणभन्दा माथि उठेर देश, जनता, विधिको शासन र वृहत्तर लोकतान्त्रिक राजनीतिक एकताको आवश्यकता औंल्याइएको छ । यही मान्यताका आधारमा राष्ट्रिय मुक्ति पार्टी नेपाल परित्याग गर्ने सामूहिक निर्णय गरिएको उनीहरूको भनाइ छ ।
विज्ञप्तिमा यथास्थितिवादी, विभाजनकारी र जनआकांक्षाविरोधी राजनीतिबाट अलग हुँदै देशको सार्वभौमिकता, लोकतन्त्र र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिने नयाँ राजनीतिक यात्राको घोषणा गरिएको छ । उक्त नयाँ राजनीतिक यात्रा केही दिनभित्र औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी पनि दिइएको छ ।
पार्टी परित्याग गर्नेहरूमा केन्द्रीय सदस्य विजय कुमार राय, राष्ट्रिय परिषद् सदस्य राजाराम कापर, केन्द्रीय सदस्य अशोक ठाकुर, केन्द्रीय सदस्य संजय गाडिया, राष्ट्रिय परिषद् सदस्य विजय नायक, नितु यादव पासवान, पुनम यादव, सरगुन पासमान, गुलो देवी पासमान, रामचन्द्र साहलगायत रहेका छन् ।
त्यसैगरी धनुषा जिल्ला कार्यसमितिका उपाध्यक्ष शंकर कुमार पासमान, उपाध्यक्ष विरेन्द्र, जिल्ला सचिव जीवन कुमार यादव, सहसचिव धन्जित मण्डल तथा सदस्यहरू प्रकाश ठाकुर, मनोज राउत, हुकुम साह, मुकेश गेडेरी र अजय कापडले पनि पार्टी परित्याग गरेका छन् ।



