जनकपुरधाम, १२ माघ । ब्याहुत सेवा समिति (कलवार कुट्टी) ले धनुषामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्कालाई एक समारोहबीच सम्मान गरेको छ ।
एसपी खड्कालाई समितिले दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गरेका हुन ।
समितिका नव–निर्वाचित अध्यक्ष श्याम प्रसाद साहको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष उमेश साहले शान्ति–सुरक्षा, सामाजिक जनचेतना तथा धार्मिक–सांस्कृतिक क्षेत्रमा नायब उपरीक्षक खड्काले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।
उहाँले पदको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुका साथै मानवीय व्यवहार र सकारात्मक सोचले समाजको स्तर उकासिने उल्लेख गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक खड्कामा ती सबै गुण स्पष्ट रूपमा देखिएको बताउनुभयो । जनकपुरधाम धार्मिक नगरी भएको र यहाँ असल कर्म गर्नेहरूलाई आगामी दिनमा समेत समाजले उचित मूल्याङ्कन गर्ने परम्परा रहेको उहाँको भनाइ थियो ।
त्यस्तै सम्मान-पत्र ग्रहण गर्दै एसपी खड्काले धनुषावासीकै साथ र सहयोगका कारण आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको बताएका छन् । उहाँले यहाँका सामाजिक, साँस्कृतिक तथा धार्मिक विचारधाराबाट आफू निकै प्रभावित भएको र यो क्षण सधैं स्मरण रहने औल्याउनुभयो ।
सम्मान कार्यक्रममा कलवार कुट्टीका पूर्व अध्यक्ष तथा जानकी टेलिभिजनका सञ्चालक वैद्यनाथ साह, महासचिव शिवशंकर साह, उपाध्यक्ष संजय प्रसाद साहलगायतले पनि सम्मानित व्यक्तित्वप्रति शुभकामना व्यक्त गर्दै आ–आफ्ना धारणा राखेका थिए ।



