जनकपुरधाम, १५ माघ । प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झाको ६२औँ बलिदान दिवसका अवसरमा शहीद दुर्गानन्दलाई राष्ट्रिय विभूति घोषणा गर्न माँग गरेको छ ।
शहीद दुर्गानन्द स्मारक संरक्षण समितिद्वारा आयोजित बलिदान दिवस समारोहमा सहभागीहरुले सो माग गरेका हुन ।
समारोहमा मधेश प्रदेशका सभामुख रामआशिष यादवले अमर शहीद दुर्गानन्द झा देश र जनताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै उहाँको योगदान, भूमिका र बलिदानलाई अभिलेखमा सुरक्षित गर्न विशेष अभिलेखालय स्थापना गर्न आग्रह गरेका छन् । वरिष्ठ पत्रकार राजेश्वर नेपालीको अथक प्रयासबाट पूर्णकदको सालिक निर्माण भएकोप्रति उहाँ आभार प्रकट गरेका छन् ।

त्यस्तै पूर्व मन्त्री जुलीकुमारी महतोले गंगालाल, धर्मभक्त, दशरथचन्द र शुक्रराजले राणा शासनविरुद्ध आन्दोलन गर्दा राजाले सहयोग गरे पनि प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झाले राजतन्त्रको अन्त्यका लागि बलिदान दिएको स्पष्ट औल्याएकी छन् ।
स्मारक संरक्षण समितिका अध्यक्ष तथा वडा अध्यक्ष राघवेन्द्र साहले अमर शहीद दुर्गानन्द झाको प्रेरणादायी बलिदानमाथि प्रकाश पार्दै उहाँ शोषण, दमन र उपेक्षाको अन्त्यका लागि सयौँ शहीद जन्माउने महान व्यक्तित्व भएको बताए । उहाँले तीन करोड नेपालीका माझ दुर्गानन्द झा प्रथम गणतन्त्रवादी शहीद भएको उल्लेख गर्दै २०६५ साल असार ९ गते जनकपुर बौद्धिक समाजका अध्यक्ष राजेश्वर नेपालीको अध्यक्षतामा सात सदस्यीय स्मारक निर्माण समिति गठन भएको जानकारी गराए ।
पत्रकार श्रीनारायण साहले प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्न जोडदार माग गर्दै ज्ञात तथा अज्ञात सम्पूर्ण शहीदहरूको भावनाअनुसार संविधान संशोधन आवश्यक रहेकोमा जोड दिए ।
बलिदान दिवस कार्यक्रममा प्रा. रमेशकुमार साह, सीमाञ्चल दैनिकका सम्पादक उपेन्द्र भगत नागबंशी, डा. शम्भु साह, सरफुद्दीन राइन, सफिकुल्ला राइन, वडा सदस्य विभा देवी ठाकुर, सकुन्ती देवी महरा, मोहिनुद्दीन राइन, पूर्व वडा सदस्य कैलास साह, देवेन्द्र महतो, सन्तोष चौधरी, गुलाब साहलगायतले विचार व्यक्त गरेका छन् ।



