काठमाडौं, १९ माघ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना बुधबार (२१ माघ) देखि देशभर परिचालन हुने भएको छ ।
निर्वाचनपूर्व सुरक्षा योजनाअनुसार नेपाली सेना २१ माघदेखि फिल्ड गस्तीमा निस्कन लागेको हो । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार सेना परिचालन हुन लागेको हो ।
‘हाम्रोतर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको छ । २१ माघदेखि निर्वाचनपूर्वको सुरक्षा रणनीतिअनुसार सेना फिल्डमा खटिन्छ,’ सहायक रथी बस्नेतले जानकारी दिए ।
निर्वाचनलाई लक्षित गर्दै देशभर ७९ हजार ७२७ जना नेपाली सेना परिचालन गरिनेछ । उनीहरूले आवश्यकता अनुसार गस्ती तथा पेट्रोलिङ गर्नेछन् । संवेदनशील क्षेत्र तथा मतदानस्थलको अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा संयुक्त गस्ती समेत गरिने सेनाले जनाएको छ ।
सुरक्षाका दृष्टिले सेनाले तेस्रो घेरामा रहेर निर्वाचन अधिकृत, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी जिम्मेवारी निर्वाह गर्ने सहायक रथी बस्नेतले बताए ।
मन्त्रिपरिषद्को सिफारिसमा ११ मंसिरमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालनका लागि स्वीकृति दिएका थिए । त्यसपछि सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना निर्माण, तालिम तथा अभ्यासको काम सम्पन्न गरिसकेको छ ।
९ असोजमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरी एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ तयार गरेको थियो । उक्त कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन अनुमोदन भएपछि सोही योजनाअनुसार सुरक्षा व्यवस्था कार्यान्वयनमा आएको हो ।
हवाई गस्ती र हेलिकप्टर स्ट्याण्डबाइ
निर्वाचन अवधिभर नेपाली सेनाले हवाई गस्ती समेत गर्ने भएको छ । विकट तथा अतिसंवेदनशील क्षेत्रलाई लक्षित गरी हवाई गस्ती र हेलिकप्टरमार्फत सुरक्षा तथा ढुवानीको व्यवस्था मिलाइएको छ ।
निर्वाचनको अवधि र निर्वाचनपश्चात् मतपेटिका ढुवानीका लागि पनि हेलिकप्टर प्रयोग गरिनेछ । यसका लागि सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरीमा हेलिकप्टर स्ट्याण्डबाइ राखिएको छ । सडक सञ्जाल नपुगेका क्षेत्रमा मतपेटिका र मतपत्र ढुवानी तथा निर्वाचनपछि गणनास्थलसम्म ल्याउने जिम्मेवारी पनि सेनाले सम्हाल्नेछ ।
बम डिस्पोजल टोली तैनाथ
निर्वाचन भाड्ने उद्देश्यले बिस्फोटक पदार्थ राख्ने वा त्रास फैलाउने सम्भावनालाई ध्यानमा राख्दै बम डिस्पोजल टोली पनि तैनाथ गरिएको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ । अति संवेदनशील मतदानस्थलहरूमा विशेष रूपमा बम डिस्पोजल टोली परिचालन गरिएको छ ।
महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा सेनाको जिम्मा
निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा खटिने भएपछि विमानस्थल, कारागार, सिंहदरबारलगायत महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । यसअघिका निर्वाचनमा पनि यस्ता प्रतिष्ठानको सुरक्षा सेनाले गर्दै आएको थियो ।
तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन
गृह मन्त्रालयका अनुसार आगामी निर्वाचनमा चारवटै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी ३ लाख ३३ हजार ९८० भन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । यसमध्ये नेपाली सेना ७९ हजार ७२७, नेपाल प्रहरी ७५ हजार ५९७, सशस्त्र प्रहरी ३४ हजार ५७६ तथा निर्वाचन प्रहरी र गुप्तचरसहित अन्य सुरक्षाकर्मी परिचालन हुनेछन् ।
३ हजार ६८० अति संवेदनशील मतदानस्थल

सुरक्षाका आधारमा मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको छ । प्रहरीको आन्तरिक मूल्यांकनअनुसार देशभर ३ हजार ६८० मतदानस्थल अति संवेदनशील छन् । तीमध्ये मधेश प्रदेशका आठ जिल्लामा मात्रै १ हजार २४६ अति संवेदनशील मतदानस्थल रहेको जनाइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षाका सबै संयन्त्र परिचालन भइसकेको सुरक्षा निकायहरूले बताएका छन् ।



