जनकपुरधाम, ३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पाँच वर्षका लागि आफ्नो स्पष्ट मार्गचित्रसहितको नागरिक करार सार्वजनिक गरेको छ । नागरिकको मतलाई लगानीको रूपमा परिभाषित गर्दै पार्टीले पाँच वर्षभित्र ठोस प्रतिफल दिने वाचासहित यो विशेष अवधारणा अघि सारेको हो ।
आईतवार पार्टीका प्रवक्ता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार मनिष झाले पत्रकारहरुको घेटघाट कार्यक्रममा सो पत्र सार्वजनिक गरेका हुन ।
रास्वपाले सदाचार, आर्थिक समृद्धि, रोजगारी, पूर्वाधार र प्रवास गरी मुख्य पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्ना योजनाहरू प्रस्तुत गरेको छ ।
पार्टीले सदाचार र असल शासनलाई पहिलो प्राथमिकतामा राख्दै भ्रष्टाचार विरोधी महाअभियानमार्फत पारदर्शी राज्य संयन्त्र निर्माण गर्ने सङ्कल्प गरेको छ । यस अन्तर्गत सरकारी सेवाहरूलाई पूर्ण रूपमा डिजिटल बनाउँदै सेवाग्राहीले भोग्नुपर्ने झन्झट अन्त्य गर्ने र वि.सं.२०४६ देखिकै उच्चपदस्थहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने योजना करारनामामा उल्लेख छ।
आर्थिक समृद्धितर्फ पार्टीले नेपालको प्रतिव्यक्ति आयलाई ३ हजार अमेरिकी डलर र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकारलाई १०० अर्ब डलर पु¥याउने लक्ष्य लिएको छ । नागरिकको जन्मदेखि मृत्युसम्मका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न एकीकृत सामाजिक सुरक्षा र शतप्रतिशत बिमासहितको गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धता समेत जनाइएको छ।
युवा पलायनको समस्या समाधान गर्न रास्वपाले आगामी पाँच वर्षभित्र सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि र उद्योगका क्षेत्रमा १२ लाख नयाँ मर्यादित रोजगारी सिर्जना गर्ने योजना बनाएको छ । पूर्वाधार विकासका सन्दर्भमा १५ हजार मेगावाट विद्युत् उत्पादन, ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण र १० वटा राष्ट्रिय महत्वका सिग्नेचर आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, विदेशमा रहेका नेपालीहरूको योगदानलाई कदर गर्दै उनीहरूका लागि अनलाइन मताधिकार र वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्ने विषयलाई पार्टीले विशेष जोड दिएको छ ।
रास्वपाले यदि आफूले एकल बहुमत पाएर पनि यी प्रतिवद्धताहरू पूरा गर्न नसकेमा, आगामी निर्वाचनमा नागरिकले राजनीतिक नैतिकताका आधारमा आफूहरूलाई सजाय दिन सक्ने र सो आफूहरूलाई मन्जुर हुने बताएको छ।
काबु बाहिरको परिस्थिति बाहेक सबै वाचा पूरा गर्ने प्रतिबद्धता जनाउँदै रास्वपाले यस दस्ताबेजलाई नागरिकको राजनीतिक विश्वासको ऋणको रूपमा व्याख्या गरेको छ।

