जनकपुरधाम ५ फागुन । धनुषाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र यतिबेला चुनावी बहस, अड्कल र अनुमानले तातेका छन् । शहरका चिया पसलदेखि गाउँका चौतारीसम्म एउटै प्रश्न घुमिरहेको छ-“को अगाडि छ ?” तर जवाफ भने कसैसँग ठोस छैन ।
कतै “अबकी बार बालेन सरकार” भन्ने नारा गुन्जिरहेको छ, कतै “छाता छाप” को चर्चा छ, त कतै “गाछी” र “सूर्य” को प्रतिस्पर्धा चर्को बहसको विषय बनेको छ । सामाजिक सञ्जालमा ‘घण्टी-घण्टी’ को लहर देखिन्छ भने जमीनी यथार्थ कस्तो छ भन्नेबारे मतदातासमेत स्पष्ट हुन सकेका छैनन् ।
विशेषगरी धनुषा निर्वाचन क्षेत्र नं. ३ र ४ सर्वाधिक चर्चामा छन् । धनुषा–३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि, नेकपा एमालेकी जुली कुमारी महतो, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा तथा जनता समाजवादी पार्टी नेपालका परमेश्वर साहको चर्चा छ । तर प्रतिस्पर्धा जुली र निधिबीच हुने आकलन गरिन्छ ।
यता धनुषा–४ मा नेपाली कांग्रेसका महेन्द्र यादव, नेकपा एमालेका रघुवीर महासेठ र जसपा नेपालका ई.डा.कृष्णचन्द्र साह मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएका छन् ।
तर रोचक कुरा के छ भने चुनावी बहसमा सक्रियता देखाउनेहरू मुख्यतः पार्टीका नेता–कार्यकर्ता नै हुन् । उनीहरू संगठनको बल, विगतका काम, सम्भावित मतअन्तर र आर्थिक खर्चको हिसाबकिताब गर्दै आफ्ना उम्मेदवारलाई अगाडि देखाउन व्यस्त छन् । तर आम मतदाता भने मौन छन् । उनीहरू खुलेर कसलाई मतदान गर्ने भन्नेबारे बोलिरहेका छैनन् ।
यस पटकको निर्वाचन समयअगावै हुनुले पनि मतदातामा अन्योल बढाएको देखिन्छ । कतिपय मतदाताले उम्मेदवारबाट अपेक्षित काम नदेखिएको गुनासो गर्छन् भने कतिपयले “कसले कति खर्च गर्छ” भन्ने समीकरणतर्फ ध्यान गएको अनुमान गर्छन् ।
राजनीतिक विश्लेषक रोशन जनकपुरी र भोगेन्द्र झाका अनुसार निर्वाचन जित्ने पहिलो आधार संगठन हो, दोस्रो स्पष्ट एजेण्डा र तेस्रो उम्मेदवारको जनतासँगको प्रत्यक्ष सम्बन्ध । उनीहरू भन्छन्, “सामाजिक सञ्जालमा देखिएको लहर नै अन्तिम सत्य होइन ।” पछिल्ला अन्तर्राष्ट्रिय र क्षेत्रीय निर्वाचन परिणामले पनि देखाएको छ । अनलाइन चर्चाभन्दा जमीनी संगठन बलियो भए परिणाम फरक आउँछ । त्यसैले पुराना दलहरूलाई कम आँक्न मिल्दैन । यसपटकको निर्वाचन संघीयताको पक्ष–विपक्षको जनमतको रूपमा पनि व्याख्या भइरहेको छ । संघीय संरचना जनताले चाहेका छन् कि छैनन् ? यो प्रश्न पनि मतपेटिकामा उत्तर खोज्दैछ ।
धनुषा–३ मा संगठनका हिसाबले कांग्रेस र एमालेबीच नै मुख्य टक्कर हुने सर्वसाधारणको अनुमान छ । यद्यपि सामाजिक सञ्जालमा देखिएको नयाँ शक्तिको प्रभावलाई पूर्ण रूपमा अस्वीकार गर्न सकिने अवस्था छैन ।
त्यस्तै धनुषा–४ मा “गाछी” र “सूर्य” बीच नै मुख्य प्रतिस्पर्धा हुने चर्चा छ । उम्मेदवारहरूले फागुन ४ गतेदेखि प्रचारलाई तीव्रता दिएका छन् । सभा, घरदैलो, भेटघाट र डिजिटल अभियान सबै सक्रिय छन् । तर अन्ततः मतदाताको मन जित्न सफल को हुन्छ भन्ने कुराले नै परिणाम निर्धारण गर्नेछ ।

