जनकपुरधाम, ६ फागुन । मधेश प्रदेशका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष सोहन साहले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि कडा टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भ उठाउँदै उनले रास्वपाको एजेन्डामाथि प्रश्न गर्दै आश्वासनको राजनीति, विचार–सिद्धान्तको अभाव तथा सम्भावित स्वार्थकेन्द्रित व्यवस्थापनप्रति शंका व्यक्त गरेका हुन् ।
उनले आफ्नो पोस्टमा उल्लेख गरेका छन् कि आफ्नै क्षेत्रमा “घण्टी” चुनाव चिह्नका उम्मेदवारले टोली निर्माणका नाममा मेयर, प्रदेशसभा सदस्य तथा वडाअध्यक्षजस्ता पदको आश्वासन बाँड्दै कार्यकर्तालाई आकर्षित गर्न खोजिरहेका छन्। “यस्तो आश्वासन दिने हैसियत कससँग छ? टिकट र पद बाँड्ने वाचा नै के आगामी चुनावको एजेन्डा हो?” भन्दै उनले प्रश्न उठाएका छन्।
पूर्व उपाध्यक्ष साहले “सुधारिएको प्रदेश” भन्ने नारामाथि पनि स्पष्ट धारणा मागेका छन्। विगतमा प्रदेश निर्वाचन बहिष्कार गरिएको प्रसंग स्मरण गराउँदै उनले अब प्रदेश संरचनाबारे पार्टीको आधिकारिक नीति के हो भन्ने जिज्ञासा राखेका छन्। “प्रदेश खारेज गर्ने कि सुदृढ बनाउने? कुनै ग्यारेन्टी छैन भने सुधारको नाराको आधार के हो?” उनले टिप्पणी गरेका छन्।
त्यस्तै, एउटै स्थानीय तहमा आगामी वर्ष हुने स्थानीय निकाय निर्वाचनका लागि अहिले नै दर्जनौं व्यक्तिलाई आश्वासन बाँडिएको आरोप पनि उनले लगाएका छन्। यसलाई उनले ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’को संकेत भन्दै अन्य दलका सम्भावित उम्मेदवारलाई प्रभावित पार्ने रणनीति हुन सक्ने आशंका व्यक्त गरेका छन्।
उनले कार्यकर्ताहरूले विचार, सिद्धान्त र दृष्टिकोण (भिजन)का आधारमा प्रचार–प्रसार गर्नुपर्नेमा अहिले “लहलहैमा” लागेको अवस्था देखिएको बताएका छन्। “विचार र सिद्धान्तले आकर्षित गरेको हो कि पदको आश्वासनले?” भन्ने प्रश्न उनले पुनः दोहो¥याएका छन्।
पोस्टमा उनले कटाक्ष गर्दै उल्लेख गरेका छन् कि यदि स्वार्थ पूरा नभए कार्यकर्ताले नै “घण्टी उम्मेदवारको घन्टा निकाल्ने” अवस्था आउन सक्छ। “भाडभैलोको राजनीति अहिले नै संस्थागत गर्ने हो भने यसको परिणाम गम्भीर हुन सक्छ,” उनको भनाइ छ।
साहले पुराना राजनीतिक दलका कार्यकर्तामा कम्तीमा राजनीतिक आस्था, विचार र समर्पणको भावना रहेको दाबी गर्दै तथाकथित नयाँ शक्तिहरू सुरुवातमै आश्वासनकेन्द्रित राजनीतिमा लागेको संकेत गरेका छन्। उनले “नयाँ” दलको सुरुवाती गतिविधि हेर्दा ‘घण्टी’ बिग्रन धेरै समय नलाग्न सक्ने अनुमानसमेत व्यक्त गरेका छन्।
अन्त्यमा उनले “यो मेरो हाइपोथेसिस हो, प्रतीक्षा गरौँ” भन्दै लोकतन्त्रमा प्रश्न उठाउने अधिकार सबैलाई रहेको उल्लेख गरेका छन्।
उक्त अभिव्यक्तिप्रति सम्बन्धित पक्षबाट हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन। चुनावी माहोल तातेका बेला सार्वजनिक यस्ता अभिव्यक्तिले मधेश, विशेषगरी धनुषा जिल्लाको राजनीतिक बहसलाई थप तीव्र बनाउने देखिन्छ।

