जनकपुरधाम, ६ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै अवाञ्छित गतिविधि हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी मधेश प्रदेशका आठवटै जिल्लाका नेपाल–भारत सीमामा व्यापक कडाइ गरिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचनको मिति नजिकिँदै जाँदा सीमाक्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था थप कडा पारिँदै आएको छ । भारतीय भूमिबाट गैरकानुनी रूपमा नेपालतर्फ भित्रिन सक्ने हातहतियार, गोलीबारुद, पटाका, विस्फोटक पदार्थ तथा लागू पदार्थजस्ता अवैध सामग्रीको ओसारपसार नियन्त्रण गर्न भारतीय समकक्षीसँग नियमित समन्वय र छलफल भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक गोपी थपलियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आठवटै जिल्लामा सुरक्षा संयन्त्र अझ सशक्त र चलायमान बनाइएकाले चोरी–तस्करीमा संलग्न गिरोहहरू निष्क्रिय बन्दै गएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनलाई भयमुक्त, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना सम्मिलित संयुक्त सुरक्षा फौज व्यापक रूपमा परिचालन गरिएको छ ।
प्रहरी नायब महानिरीक्षक थपलियाले निर्वाचनका दिन मतदाताको घरदेखि मतदान केन्द्रसम्म कडा सुरक्षा व्यवस्था रहने भएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभयो । मधेश प्रदेशका सप्तरीदेखि पर्सासम्मका आठवटै जिल्लामा करिब १२ हजार नेपाल प्रहरी तथा २८ हजार म्यादी प्रहरी परिचालन गरिएको छ । प्रदेशभर चार सयभन्दा बढी प्रहरी कार्यालय सक्रिय रहेको जनाइएको छ ।

