जनकपुरधाम, ७ फागुन । नेपाली काँग्रेसका सभापति गगन थापाले ‘टिम नेपाल’ गठन गरेर पाँच वर्षभित्र कुशासन र गरिबी अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जनकपुरधामको तिरहुतियामा बुधबार आयोजित प्रतिज्ञा सभामा उनले एक्लै परिवर्तन सम्भव नभएको उल्लेख गर्दै सबै शक्ति समेटेर अघि बढ्ने बताएका ।
“कांग्रेसले आजका समस्या समाधान गर्छ र भोलिको विकासतर्फ देशलाई अघि बढाउँछ । हाम्रो शक्ति सबैलाई समेटेर अघि बढ्नु हो,” उनले भने । उनका अनुसार ‘टिम नेपाल’ अवधारणाअन्तर्गत वडादेखि केन्द्रसम्मका सरकार र सबै राजनीतिक दलबीच सहकार्य गरिनेछ । प्रतिज्ञापत्रमा उल्लेखित प्रतिबद्धता सभापतिदेखि क्रियाशील सदस्यसम्मले पालना गर्ने उनले जिकिर गरे ।

थापाले प्रत्येक नेपाली सम्मानपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गर्ने, किसानलाई आत्मनिर्भर बनाउने, शिक्षा र स्वास्थ्य सेवा सहज बनाउने तथा नेपाललाई मौलिकता र आधुनिकताको संगमका रूपमा उभ्याउने प्रतिबद्धता जनाए। “हामी यस्तो नेपाल बनाउनेछौँ, जहाँ छोराछोरी पढाउँदा ऋण लिनु नपरोस् र उपचार गराउँदा डर मान्नु नपरोस्,” उनले भने ।
नेपाली काँग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति विश्व प्रकाश शर्माले विषम परिस्थितिमा देशलाई सम्भावनाको बाटोमा लैजान साझा संकल्प आवश्यक रहेको बताए । उनले निर्वाचनपछि संविधान संशोधन र सुशासनका पक्षमा पहल गर्ने दाबी गरे ।
महिला उपसभापति पुष्पा भुसालले महिला, दलित, मुस्लिम तथा अल्पसंख्यक समुदायका अधिकार सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध रहेको बताइन् ।

पूर्व महामन्त्री तथा धनुषा(३ का उम्मेदवार विमलेन्द्र निधिले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसलाई मतदान गर्न आह्वान गरे । उनले जनताको अधिकार र विकासका लागि कांग्रेसले ऐतिहासिक योगदान दिएको उल्लेख गर्दै संघीयता र लोकतन्त्र जोगाउन कांग्रेसको जित आवश्यक रहेको बताए ।
प्रतिज्ञा सभामा मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रका प्रतिनिधिसभा उम्मेदवारहरूको उपस्थिति रहेको थियो।
प्रतिज्ञापत्रमा १० भिजन
नेपाली कांग्रेसले मुलुकमा सुशासन र समुन्नति कायम गर्ने उद्देश्यसहित आफ्नो १० बुँदे विस्तृत भिजन सार्वजनिक गरेको छ। जनकपुरमा बुधबार आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको कांग्रेसको प्रतिज्ञापत्र मा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने मूल नाराका साथ बुँदे भिजन समेत सार्वजनिक गरिएको हो ।
भिजनमा पार्टीले आगामी पाँच वर्षभित्र हासिल गर्ने लक्ष्यहरू र ‘बदलियो कांग्रेस, बदलिन्छ देश’ भन्ने उद्घोषका साथ नागरिकको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कांग्रेसले परिकल्पना गरेको नेपालमा नागरिकको आत्मसम्मानलाई पहिलो प्राथमिकतामा राखिएको छ । जात, धर्म, लिङ्ग वा क्षेत्रका आधारमा हुने विभेद अन्त्य गर्दै हरेक नागरिकले शिर ठाडो पारेर बाँच्न पाउने ‘सम्मानित नेपाल’ निर्माण गर्ने पार्टीको योजना छ।
यसका साथै, विधिको शासनलाई कडाइका साथ लागू गर्दै सत्ता र शक्तिको पहुँचका भरमा पाइने विशेषाधिकार अन्त्य गर्ने र बेथिति तथा हैरानीमुक्त प्रशासनिक सेवा प्रवाह गर्ने संकल्प प्रस्तावमा गरिएको छ।
भ्रष्टाचार नियन्त्रण र सरकारी सेवामा ढिलासुस्ती अन्त्य गरी नागरिकले घरमै बसेर सेवा पाउने प्रबन्ध मिलाउने सभापति गगन थापाले दाबी गरे । आर्थिक समृद्धिका सन्दर्भमा कांग्रेसले निजी क्षेत्रको प्रवद्र्धन र सम्पत्ति सिर्जनालाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ।
स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवाहरूले नेपालमै भविष्य देख्न सक्ने वातावरण बनाउने र विदेश पलायन रोक्ने रणनीति दस्तावेजमा समेटिएको छ।
कृषिलाई मर्यादित पेसाको रूपमा विकास गर्दै ‘पेटभरी खुवाउने र देशलाई चिनाउने’ किसानको नेपाल बनाउन प्रविधि र बजारको उचित व्यवस्थापन गरिने उल्लेख छ। साथै, पर्यटन, ऊर्जा र पूर्वाधारको विकासमार्फत समुन्नतिको बाटोमा लम्कने नेपालको चित्र प्रस्तुत गरिएको छ।
आधारभूत सेवा सुविधातर्फ शिक्षा र स्वास्थ्यमा राज्यको दायित्व बढाउने प्रतिबद्धता जनाइएको छ। ‘ओखती र ओत दिने नेपाल’ को परिकल्पना गर्दै उपचारकै कारण कोही पनि गरिब हुनु नपर्ने र गुणस्तरीय स्वास्थ्य बीमा प्रणाली लागू गर्ने जनाइएको छ।
त्यस्तै, छोराछोरी पढाउन अभिभावकमाथि आर्थिक भार नपर्ने गरी गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ।
नेपालको मौलिक विविधता, भाषा, संस्कृति र सम्पदामा गर्व गर्दै आधुनिकतालाई समेत आत्मसाथ गर्ने र अन्तर्राष्टिूय मञ्चमा नेपालको स्वाभिमान उच्च राख्ने विदेश नीति अवलम्बन गरिने कुरालाई भिजनमा समेटिएको छ।

