जनकपुरधाम, ८ फागुन । निर्वाचन आचारसंहिताका संयोजक तथा निर्वाचन अधिकृत सुभाषबाबुले ग्रामीण क्षेत्रमा व्यापक रूपमा आचारसंहिता उल्लङ्घन भइरहेको भन्दै यसतर्फ दल तथा उम्मेदवारहरू गम्भीर बन्नुपर्ने बताएका छन् ।
राष्टिूय समाचार समिति (रासस) मधेश प्रदेशद्वारा आयोजित ६५औँ वार्षिकोत्सव समारोह तथा “निर्वाचन आचारसंहितामा सञ्चार क्षेत्रको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगले तोकेको मापदण्डभित्र रही प्रचार(प्रसार गर्न आग्रह गरे । उनले पोस्टर, पम्प्लेटलगायत प्रचार सामग्रीको साइजसमेत आयोगले निर्धारण गरेको मापदण्डअनुसार हुनुपर्ने स्पष्ट पारे । सो अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले दल तथा उम्मेदवारहरूले भारतीय सवारीसाधन प्रयोग गर्दा मानिस बोक्न नपाइने बताए ।
राससका प्रदेश प्रमुख सुरेश झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पूर्ण गुप्ता, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादव, रासस महोत्तरी समाचारदाता गोपाल बराललगायत वक्ताहरूले केही उम्मेदवारले डमी उम्मेदवारको नाममा सवारीसाधन दुरुपयोग गर्ने, नाराजुलुसमा बालबालिकाको प्रयोग गर्ने जस्ता गतिविधि भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

