जनकपुरधाम, ८ फागुन । प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा दलित समुदायका अभियन्ता तथा नेताहरू मतदातालाई सजग र सचेत गराउन सक्रिय भएका छन् । दलित समुदायले यसपटक आफ्नो मतको सही सदुपयोग गरे आगामी दिन आफ्नै हुने भन्दै विभिन्न तहमा छलफल र भेटघाटलाई तीव्रता दिइएको छ ।
यसै क्रममा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संयोजक दुर्गा शोभले दलित समुदायका अगुवासँग भेटघाट गर्नुभएको छ । भेटघाटका क्रममा उहाँले दलित समुदाय अब सचेत, संगठित र आत्मनिर्भर रूपमा अघि बढ्न सक्षम रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामी सजग छौं, हामी संगठित छौं र हामी आफैं अगाडि बढ्न सक्छौं । यही बेला हाम्रो सशक्त सन्देश दिने समय हो । त्यसैले यसपटकको निर्वाचनमा विवेकपूर्ण ढंगले आफ्नो प्रतिनिधि छनोट गर्न आवश्यक छ ।”
उहाँले विगतमा नयाँ–पुराना विभिन्न दललाई समर्थन गरेर काम गरे पनि दलित समुदायलाई केवल मतदाता रूपमा मात्र प्रयोग गरिएको गुनासो गर्नुभयो । “अब हामी प्रयोग हुने होइनौं । कसले हाम्रो साथ र सहयोग गर्छ, कसले हाम्रो मुद्दा उठाउँछ भन्ने आधारमा मतदान गर्नुपर्छ,” उहाँको भनाइ थियो ।
संयोजक शोभले यस निर्वाचनमा जित–हारभन्दा पनि समुदायको मुद्दा कसले उठाउँछ भन्ने पक्ष महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमार्फत दलित समुदायबाट प्रतिनिधित्व सुनिश्चित गर्न संगठित रूपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँका अनुसार दलित समुदायका समस्या बहुआयामिक छन् । स्थानीय सेवा प्रवाहदेखि वातावरण, जलवायु परिवर्तन, दिगोपन, समतामूलक विकास, राजनीतिक पहुँच, बजेट विनियोजनजस्ता विषय समुदायसँग प्रत्यक्ष सरोकार राख्छन् । “जसको एजेण्डामा यी विषय स्पष्ट छन्, त्यतैतिर हाम्रो समर्थन र वर्चस्व हुनुपर्छ,” उहाँले बताउनुभयो ।
उहाँले समाजवादको आधार, राज्यको शासकीय स्वरूप, सुशासन, पारदर्शिता, विधिको शासन, निर्वाचन प्रणाली सुधार, आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, शिक्षा तथा मानव संसाधन विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, महिला–दलित–युवा समावेशिता तथा कला, साहित्य र खेलकुदको विकासजस्ता विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
भेटघाट कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ का प्रदेश अध्यक्ष कैलास दास, अनौपचारिक क्षेत्र सेवा केन्द्रका प्रदेश संयोजक राजु पासमान, दलित अभियन्ता वैद्यनाथ पासमान, ममता विश्वकर्मा लगायतले विचार राखेका छन् ।
दलित समुदायभित्र राजनीतिक सचेतना र मुद्दामुखी मतदानको बहस तीव्र बन्दै गएको सहभागीहरूले बताएका छन्। आगामी निर्वाचनमा दलित मत निर्णायक बन्न सक्ने आकलनका बीच समुदायभित्रको एकता र स्पष्ट एजेण्डामाथि जोड दिइएको छ ।

