काठमाडौं, २१ फागुन । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदैछ ।
नेपालका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने भएको हो ।
आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदैछ ।
प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्ष प्रणालीअन्तर्गत तीन हजार १७ पुरुष, ३८८ महिला र एक जना अन्य गरी कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन् ।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी कुल तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । साथै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । त्यस्तै, १४३ अस्थायी मतदानस्थल तोकिएका छन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार ५६७ सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । राष्ट्रिय अनुसन्धान विभागबाट एक हजार ९२१ जना तथा एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी खटाइएको छ । निर्वाचन सम्पन्न गराउन दुई लाख १५ हजार कर्मचारी परिचालन गरिएका छन् ।
आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पठाइसकेको जनाएको छ ।
यसपटकको निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले उत्साहजनक रूपमा मतदानमा सहभागी हुन आह्वान गरेका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले पनि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो अनुष्ठान भएको बताएका छन् ।
निर्वाचनका सन्दर्भमा अपिल जारी गर्दै उनले हरेक मतदाताले खसाल्ने एक–एक मतले राजनीतिक व्यवस्थाको स्वरूप, शासन, सरकार, नीति र नेतृत्व निर्धारण गर्ने भएकाले निर्वाचनको विशेष महत्त्व रहेको उल्लेख गरेका छन् ।
महत्त्वपूर्ण लोकतान्त्रिक प्रक्रियामा सहभागी भएर आफ्नो अधिकारको प्रयोग गर्न उनले सम्पूर्ण मतदातालाई आग्रह गरेका छन् । निर्वाचनमा सहभागी हुनु हरेक सार्वभौम मतदाताको कर्तव्यसमेत भएको उनको भनाइ छ ।

