काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान भइरहँदा प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि उम्मेदवारसम्मले आ–आफ्नो मतदान केन्द्रमा पुगेर मत खसालेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं क्षेत्र नं.–३ अन्तर्गत उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । चितवन–२ बाट उम्मेदवार रहेका उनले आफ्नो निर्वाचन क्षेत्रमा भने मतदान गर्न पाएनन् । मतपत्र खसालेपछि उनले मतपेटिकामा ढोगेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गरेका छन् । सोही केन्द्रबाट राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पनि मतदान गरेका छन् । रुकुमपूर्वबाट उम्मेदवार रहेका प्रचण्डले मतदानपछि हेलिकोप्टरमार्फत आफ्नो निर्वाचन क्षेत्र जाने कार्यक्रम रहेको जनाइएको छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ अन्तर्गत बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयबाट मतदान गरेका छन् । उनी सोही क्षेत्रबाट उम्मेदवार छन् ।
नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही–२ का उम्मेदवार विष्णुप्रसाद पौडेलले बुटवल उपमहानगरपालिका–८ स्थित सडक डिभिजन कार्यालयमा रहेको केन्द्रबाट मतदान गरेका छन् । २०६४ यताका निर्वाचनमा निरन्तर विजयी हुँदै आएका पौडेलले यसपटक पनि सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेका छन् ।
एमाले उपाध्यक्ष गोकर्ण विष्ट (गुल्मी–२) ले इस्मा गाउँपालिका–४ स्थित रामराज्य माविबाट मतदान गर्दैछन् भने एमाले महासचिव शंकर पोखरेल (दाङ–२) ले तुलसीपुर–१९ स्थित बिजौरी केन्द्रबाट मतदान गर्दैछन् । एमाले सचिव छविलाल विश्वकर्माले रुपन्देही–२ अन्तर्गत बुटवल–११ स्थित लुम्बिनी वाणिज्य क्याम्पसबाट मतदान गरेका छन् ।
एमाले पूर्वउपमहासचिव तथा गुल्मी–१ का उम्मेदवार प्रदीप ज्ञवालीले रुरुक्षेत्र–४ बम्घा निमाविबाट मतदान गर्दैछन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा दाङ–१ का उम्मेदवार योगेन्द्र चौधरीले गढवा–४ खडगपुर केन्द्रबाट मतदान गरेका छन् । कांग्रेसका नेता तथा गुल्मी–१ का उम्मेदवार चन्द्र भण्डारीले छत्रकोट–१ हुँगास्थित जनजागृति माविबाट मतदान गरेका छन् ।
रास्वपाका महामन्त्री तथा रुपन्देही–१ का उम्मेदवार सुनील लम्सालले तिलोत्तमा–७ स्थित प्रभात आधारभूत विद्यालयबाट मतदान गरेका छन् भने सहमहामन्त्री विपीनकुमार आचार्यले दाङको तुलसीपुर–१२ पशुपति मावि (रहीपौरी) केन्द्रबाट मतदान गरेका छन् । आचार्य दाङ–२ का उम्मेदवार भए पनि उनको मतदाता नामावली दाङ–३ मा रहेको छ ।
नेकपाका नेता तथा रोल्पाबाट उम्मेदवार वर्षमान पुनले रोल्पा नगरपालिका–७ बालउदय प्राविबाट मतदान गरेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले धरान–१८ स्थित कार्मेल स्कुलबाट मतदान गरेका छन् । उनी सुनसरी–१ बाट उम्मेदवार छन् ।
यसैबीच, लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ निर्वाचन क्षेत्र रहेका छन् । झण्डै ३३ लाख ८६ हजार ६८० मतदाता रहेको प्रदेशमा करिब ६ सय उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ३९४ जना राजनीतिक दलका र २०५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । प्रदेशभर १ हजार ६७१ मतदानस्थल र ३ हजार ९९८ मतदान केन्द्र तोकिएका छन् ।
देशभर मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ । शीर्ष नेतादेखि सर्वसाधारणसम्मको सहभागिताले निर्वाचनप्रति जनचासो र सक्रियता उच्च देखिएको छ ।

