जनकपुरधाम, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान सुरु भएसँगै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सुरु हुनुअघि नै सुरक्षा निकायहरूले सहर तथा आसपासका क्षेत्रमा चेकजाँचलाई तीव्र बनाएका हुन् ।
सडक, चौक र संवेदनशील स्थानहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायको संयुक्त गस्ती बढाइएको छ । मुख्य मार्गहरूमा सवारीसाधन रोकेर जाँच गर्ने कार्य जारी छ भने संदिग्ध गतिविधिमाथि निगरानी कडा पारिएको सुरक्षा स्रोतले जनाएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले अत्यावश्यक सेवाबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । एम्बुलेन्स, सञ्चार, सुरक्षालगायत अत्यावश्यक सेवाका सवारीलाई मात्र आवतजावतको अनुमति दिइएको छ ।
सुरक्षा निकायले विभिन्न स्थानमा अस्थायी चेकपोस्ट स्थापना गरी यात्रु तथा सवारीसाधनको कडाइका साथ जाँच गरिरहेका छन् । मतदानस्थल वरपर विशेष सतर्कता अपनाइएको छ ।
यसैबीच, केही शीर्ष नेताहरूले आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गरिसकेका छन् । समग्रमा जनकपुरधाममा मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ भने सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखिएको छ ।

