जनकपुरधाम, २१ फागुन । धनुषाका चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदान केन्द्रभित्र मोबाइल फोन लैजान निषेध गरिएको निर्वाचन अधिकृतहरूले जानकारी दिएका छन्।

मतदान स्थलहरूमा निर्वाचन प्रहरी खटिएका छन् भने सशस्त्र प्रहरी, जनपथ प्रहरी, नेपाल प्रहरी तथा नेपाली सेनाको संयुक्त गस्ती टोली निरन्तर निगरानीमा रहेको छ। सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएकाले हालसम्म कुनै अप्रिय घटना भएको छैन।
मतदान केन्द्रहरूमा अत्यधिक भीडभाड नदेखिए पनि मतदाताको सहभागिता सन्तोषजनक रहेको छ। मतदान अधिकृत ताहिर हुसैनका अनुसार मत खस्ने क्रम निरन्तर जारी छ।

जनकपुरधामस्थित कदमचोकमा रहेको पशुपन्छी कार्यालयभित्रको मतदान केन्द्रमा करिब एक हजार मतदाता रहेकामा बिहान १० बजेसम्म २४० जनाले मतदान गरिसकेको जनाइएको छ।


