जनकपुरधाम २३ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको जारी मतगणना तथा प्रारम्भिक मतपरिणामले मधेशवादी दलहरूको अवस्था कन्तबिजोक बनेको देखिएको छ ।
मधेश आन्दोलनमार्फत मधेशी जनताको मन जितेका मधेशवादी दलका प्रमुख नेताहरू जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो तथा नागरिक उन्मुक्ति पार्टीसँग सम्बन्धित नेता रेशम चौधरी लगायतको मतपरिणाममा उल्लेख्य उपस्थिति देखिएको छैन।
एक समय मधेशी जनताका ‘मसिहा’का रूपमा चिनिएका यी नेताहरूले निर्वाचनका बेला मधेशको मुद्दा उठाउने तर निर्वाचित भएपछि त्यसलाई बिर्सने प्रवृत्तिका कारण आज यस्तो अवस्था आएको राजनीतिक विश्लेषकहरू बताउँछन्। यस पटकको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा अन्य केही दलहरूले केही सिट जित्ने सम्भावना देखिए पनि मधेशवादी दलहरूको अवस्था भने निकै कमजोर देखिएको छ।
मधेश प्रदेशका ३२ सिटमध्ये हालसम्मको मतपरिणामलाई हेर्दा मधेशवादी दलहरूले खाता समेत खोल्न नसक्ने अवस्था देखिएको छ।


