काठमाडौं, ५ चैत । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ ।
निर्वाचन आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाल कम्युनिष्ट पार्टीका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार–चार जना सांसद निर्वाचित भएका छन् ।
आयोगले आजै निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरेपछि प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को समग्र परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको छ ।
उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नेपालको संविधान, २०७२ को धारा ७६ (१) बमोजिम सरकार गठनको प्रक्रिया अघि बढ्ने बाटो खुल्नेछ ।

