काठमाडौं ५ चैत। नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए । उक्त क्षेत्रमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंहले पराजित गरेका हुन् ।
निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट हासिल गर्दा दोस्रो स्थानमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट मात्र प्राप्त गरेको छ ।
चुनावी परिणामपछि राजीनामा दिने तयारीमा रहेका थापालाई पार्टीका विभिन्न तहका नेताहरूले निर्णय पुनर्विचार गर्न सुझाव तथा दबाब दिँदै आएका थिए ।
थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा निर्वाचित भएका थिए । उनले दिएको राजीनामाबारे पार्टीको आगामी बैठकले निर्णय गर्नेछ । यसका लागि केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि बोलाइएको छ ।

