जनकपुरधाम, २० चैत । ‘रक्तदान-जीवनदान’ नारालाई आत्मसात् गर्दै जनकपुरधामस्थित ‘मित्र युवा संगती’ नामक संस्थाले विगत २० वर्षदेखि निरन्तर रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाका प्रतिनिधि जयप्रकाश मण्डलका अनुसार सन् २००७ देखि नियमित रूपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइएको हो। “रक्त अभावका कारण कुनै पनि मानिसले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले हामीले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएका छौँ,” मण्डलले बताए।
उनका अनुसार संस्थामार्फत प्रत्येक वर्ष करिब ५० देखि १०० जनासम्मले रक्तदान गर्ने गरेका छन्। साथै, संस्थाले युवाहरूको रक्त समूहसम्बन्धी अभिलेख (रजिस्टर) पनि राख्दै आएको छ। “कसैलाई आकस्मिक रूपमा रगत आवश्यक परेमा हामीले अभिलेखमा रहेका दाताहरूलाई सम्पर्क गरेर सहयोग उपलब्ध गराउने व्यवस्था मिलाउँदै आएका छौँ,” उनले बताए।
यसैबीच, शुक्रबार जनकपुरधाममा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा ५० भन्दा बढी व्यक्तिले रक्तदान गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ।

