जनकपुरधाम, २५ चैत । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमाक्षेत्रमा मङ्गलबार दुई मोटरसाइकल आपसमा जुध्दा भएको भीषण आगलागीमा तीन जना विद्यार्थीको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बखरी(बर्दिबास सडकखण्ड अन्तर्गत एकडारा गाउँपालिका(५ को गेना(बथनाहामा एसईई परीक्षा दिएर घर फर्किरहेका विद्यार्थी सवार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । ठक्करपछि मोटरसाइकलको ट्यांकी विस्फोट भई अचानक आगलागी हुँदा एक मोटरसाइकलमा सवार तीनै जना विद्यार्थी आगोमा परेर जलेका कारण घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार मृत्यु हुनेमा जलेश्वर नगरपालिका(६ का रामदयाल दासका अन्दाजी २० वर्षीय छोरा रवि दास, सोही ठाउँका सुरेन्द्र दासका अन्दाजी २० वर्षीय छोरा सुभाष दास तथा एकडारा गाउँपालिका(३ का शत्रुधन मण्डलका अन्दाजी २० वर्षीय छोरा अभिषेक मण्डल रहेका छन् ।
त्यसैगरी, दुर्घटनामा जलेश्वर(६ धबौलीका सुरेश दासका अन्दाजी १९ वर्षीय छोरा रोहित दास, सोही स्थानका लखिन्द्र कापरका अन्दाजी ९ वर्षीय छोरा अभय कापर तथा एकडारा(५ गेना(बथनाहाका रामवरण कापरका अन्दाजी २० वर्षीय छोरा अजय कापर घाइते भएका छन् ।
प्रहरी उपरीक्षक शर्माका अनुसार दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी, वारुणयन्त्र र एम्बुलेन्स घटनास्थलमा पुगेर घाइते तथा मृतकलाई प्रादेशिक अस्पताल जलेश्वर पु¥याइएको थियो । अस्पतालका चिकित्सकले घाइते तीनै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाएका छन् ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका टोली घटनास्थल र अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए। उनका अनुसार घाइतेमध्ये दुई जनाको उपचार जनकपुरस्थित रामजानकी अस्पतालमा भइरहेको छ भने एकजनाको प्रादेशिक अस्पताल÷स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको उनले बताए ।
मृतकहरूको शव आगलागीका कारण नचिनिने अवस्थामा पुगेकोले पहिचान गर्न समय लागेको जनाइएको छ । परिवारका सदस्य आएपछि मात्र शवको पहिचान खुलाइएको र पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
दुवै मोटरसाइकल पूर्ण रूपमा जलेका कारण नम्बरसमेत खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका बेला दुवै मोटरसाइकलमा तीन(तीन जना सवार रहेको पुष्टि भएको छ ।
स्थानीयवासीले मोटरसाइकल जुधेर आगलागी भई यति ठूलो क्षति भएको घटना अत्यन्त डरलाग्दो र दुःखद भएको बताएका छन् । प्रादेशिक अस्पताल जलेश्वरमा भेटिएका स्थानीय राजन मण्डलले विमान दुर्घटनामा जलेर मृत्यु भएका घटना सुनेको भए पनि मोटरसाइकल आगलागीमा यसरी जलेर मृत्यु भएको पहिलोपटक देखेको भन्दै यसलाई भयावह घटना बताए ।
घटनापछि स्थानीयवासीले अभिभावकलाई जिम्मेवार बन्न आग्रह गरेका छन्। स्थानीय युवा सञ्जीत पाठकले कलिला उमेरका बालबालिकाको हातमा मोटरसाइकलजस्ता साधन दिनु खतरनाक भएको उल्लेख गर्दै कडाइ गर्नुपर्ने बताए।
उनले पछिल्लो समय सडक दुर्घटना बढ्दै गएको सन्दर्भमा विद्यार्थीलाई मोटरसाइकल चलाउन नदिन र नियम उल्लङ्घन भएमा अभिभावकलाई समेत जिम्मेवार बनाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

