जनकपुरधाम, १ वैशाख । महामानव भीमराव अम्बेडकर को १३५औँ जन्मजयन्ती जनकपुरधाममा हर्षोल्लासपूर्वक मनाइएको छ।
राष्ट्रिय तत्मा समाज नेपाल केन्द्रीय कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रमका सहभागीहरूले अम्बेडकरको विचार, संघर्ष र आदर्शलाई स्मरण गर्दै यस दिनलाई समीक्षा तथा आत्मसात गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। वक्ताहरूले अम्बेडकर दलित समुदायमा जन्मिए पनि उनका विचार सम्पूर्ण मानवजातिका लागि मार्गदर्शक रहेको उल्लेख गरे।
समाजका अध्यक्ष रामअशिष दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राध्यापक बालकेश्वर ठाकुरले अम्बेडकरको संघर्षलाई स्मरण गर्दै दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदाय सक्रिय नभएसम्म अधिकार प्राप्ति सम्भव नहुने धारणा राखे। “उहाँमा साहस र स्पष्ट विचार मात्र होइन, संघर्ष गर्ने अदम्य क्षमता पनि थियो,” ठाकुरले भने।
त्यसैगरी दलित अभियन्ता देवसागर दासले गौतम बुद्ध को सिद्धान्त र अम्बेडकरको विचारलाई गहिरो रूपमा बुझ्न आवश्यक रहेको बताए। उनले अम्बेडकरलाई भारत रत्न बाट सम्मानित गरिएको स्मरण गराउँदै भारतको संविधान निर्माणमा उनको महत्वपूर्ण योगदान रहेको र विश्वभरका दलित तथा पिछडिएका समुदायको अधिकारका पक्षमा निरन्तर वकालत गर्दै आएको उल्लेख गरे।
दलित पत्रकार संघ नेपालका प्रदेश अध्यक्ष कैलास दासले अम्बेडकरका विचारलाई आत्मसात गर्दै संकल्प लिने दिनका रूपमा जयन्ती मनाउनुपर्ने बताए। “हामीले बाबा साहेब जस्तै साहसी बन्नुपर्छ र विभेद, छुवाछुत तथा सामाजिक अन्यायविरुद्ध संघर्ष गर्न आजैबाट प्रतिबद्ध हुनुपर्छ,” उनले भने। उनले शिक्षालाई प्राथमिकता दिने, सामाजिक भेदभावविरुद्ध लड्ने र आफ्ना अधिकारका लागि संगठित संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा जयप्रकाश साह, गंगाराम दास, इनरजीत मेस्तर, मुन्नी देवी दास, रघुनाथ दास, कुलदीप दास र चन्देश्वर दासलगायतका वक्ताहरूले अम्बेडकरको संघर्षमय जीवनबाट प्रेरणा लिनुपर्नेमा जोड दिएका थिए।

