जनकपुरधाम, ५ वैशाख । जानकी नवमीको अवसरमा जनकपुरधाममा भव्य ज्ञान महायज्ञ तथा विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिने भएको छ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ नेपाल (इस्कोन) जनकपुरधामले शुक्रबार पत्रकार सम्मेलन गरी नौदिने कार्यक्रम सार्वजनिक गरेको हो ।

इस्कोन जनकपुरधामका अध्यक्ष रामेश्वरम दासले वैशाख ५ गतेदेखि ११ गतेसम्म नौ दिवसीय श्रीमद्भागवत कथा, जानकीजीको महाअभिषेक, दैनिक कीर्तन तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।
उहाँका अनुसार वैशाख १३ गते श्रीजगन्नाथ, बलदेव र सुभद्राको भव्य रथयात्रा निकालिनेछ। रथयात्रा इस्कोन कार्यालयबाट सुरु भई भ्रमरपुरा चौक, रामानन्द चौक, पिराडी चौक, मिल्स एरिया, कदम चौक, मुरली चौक र तपसी चौक हुँदै पुनः इस्कोन परिसरमा पुगेर समापन हुनेछ।
कार्यक्रम अवधिभर अनन्त कृष्ण दास गोस्वामी महाराजद्वारा श्रीमद्भागवत कथा वाचन गरिनेछ। पत्रकार सम्मेलनमा इस्कोनका उपाध्यक्ष रमेश कुमार साह तथा स्थानीय जनप्रतिनिधिहरूले कार्यक्रमको धार्मिक तथा सांस्कृतिक महत्त्वबारे जानकारी दिएका छन् ।

इस्कोन धार्मिक संस्था मात्र नभई आध्यात्मिक, सांस्कृतिक र सामाजिक सुधारको अभियान पनि हो, जसले विश्वभर मानिसहरूलाई शान्ति, अनुशासन र भक्ति मार्गतर्फ प्रेरित गर्दै आएको छ ।

