जनकपुरधाम, ९ वैशाख । नेपाल पत्रकार महासंघ को केन्द्रीय समितिको परिपत्रअनुसार मधेश प्रदेश समितिले सरकारी विज्ञापन नीतिविरुद्ध मुख्यमन्त्री कृष्ण प्रसाद यादव लाई ज्ञापनपत्र बुझाएको छ। प्रदेश सचिव हदिश खुद्दारको नेतृत्वमा गएको महासंघको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर उक्त ज्ञापनपत्र हस्तान्तरण गरेको हो।
महासंघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सचिवस्तरमा जारी गरिएको परिपत्रप्रति गम्भीर आपत्ति जनाएको छ। उक्त परिपत्रमार्फत संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश तथा स्थानीय तहलाई सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिइएको छ।
महासंघले विज्ञापन क्षेत्रमा देखिएका बेथितिहरू नियन्त्रण गर्ने सरकारी प्रयासलाई सकारात्मक रूपमा लिए पनि त्यसकै नाममा विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने नीति संविधान, प्रचलित कानुन, अन्तर्राष्ट्रिय मान्यता, खुला बजार अर्थतन्त्र तथा संघीयताको मर्मविपरीत रहेको ठहर गरेको छ। यस्तो निर्णयले प्रेस स्वतन्त्रतामाथि अप्रत्यक्ष नियन्त्रण गर्न खोजिएको महासंघको आरोप छ।
ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार उक्त नीतिले निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने र स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने जोखिम बढाएको छ। महासंघका अनुसार देशभर सञ्चालनमा रहेका चार सयभन्दा बढी रेडियो, पत्रपत्रिका, टेलिभिजन तथा अनलाइन मिडियाको आर्थिक आधार यसबाट प्रभावित हुने देखिएको छ। यसले हजारौँ पत्रकार, सञ्चारकर्मी तथा कर्मचारीको रोजगारी संकटमा पार्ने चेतावनीसमेत दिइएको छ।
महासंघले दुर्गम क्षेत्रसम्म सूचना प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका स्थानीय सञ्चारमाध्यमहरू बन्द हुने अवस्था आए नागरिकको सूचनाको हक कुण्ठित हुने पनि औंल्याएको छ। सूचना पहुँच कमजोर हुँदा लोकतान्त्रिक अभ्याससमेत प्रभावित हुने महासंघको भनाइ छ।
महासंघले विज्ञापन वितरण प्रणालीलाई पारदर्शी, समावेशी तथा समानुपातिक बनाउन माग गरेको छ। संविधानविपरीतको निर्देशन अस्वीकार गर्न प्रदेश र स्थानीय सरकारलाई आह्वान गर्दै महासंघले आफ्ना माग पूरा नभए निरन्तर संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।
यता, ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकार मिडियामैत्री रहेको उल्लेख गर्दै उक्त विषयलाई मन्त्रिपरिषद्स्तरमा छलफल गरी कार्यान्वयनतर्फ लैजाने आश्वासन दिएका छन्।
ज्ञापनपत्र बुझाउन नेपाल पत्रकार महासंघ का केन्द्रीय सदस्य राजेश कर्ण, जिल्ला अध्यक्ष पुरण साह, उपाध्यक्ष अवधेश कामत, वरिष्ठ पत्रकार रामभरत साह, कैलास दास, प्रविण साह, अर्जुन मण्डल ,नविण सिंह र भगलु मण्डललगायत सहभागी थिए।

