काठमाडौं १२ वैशाख । बागमती नदी किनारअन्तर्गत थापाथलीस्थित सुकुमवासी बस्ती स्काभेटर प्रयोग गरेर हटाउन सुरु गरिएको छ । सार्वजनिक जग्गा तथा नदी कोरिडोर अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर प्रवेश गरिएको हो।
बस्ती हटाउने क्रममा सम्भावित झडप तथा तनावलाई ध्यानमा राख्दै ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यद्यपि यसपटकको अवस्था विगतको तुलनामा फरक र शान्त देखिएको छ।
घटनास्थलमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूको सरसामान सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेका छन् । उनीहरूले घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यानलगायतका अत्यावश्यक सामग्री नष्ट नहोऊन् भन्ने उद्देश्यले आफैँ सक्रिय रूपमा ओसारपसार गरिरहेका छन्।
यसअघि यही क्षेत्रमा डोजर चलाउन खोज्दा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच ढुंगामुढा तथा हिंसात्मक झडपसमेत भएको थियो । तर यसपटक प्रशासनले सहयोगात्मक रणनीति अपनाउँदै बस्ती खाली गराउने प्रयास गरेको देखिन्छ।
सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न निर्देशन दिएका थिए । बागमती नदी कोरिडोर निर्माण तथा बागमती सभ्यता संरक्षणको दीर्घकालीन योजनाअनुसार सो क्षेत्रमा रहेका संरचनाहरू हटाउन लागिएको जनाइएको छ।


